Sunday, April 5, 2026

जीवन

 



गोकर्ण गाउँको एक साधारण बालक थियो। उसको अनुहारमा सधैं मुस्कान देखिन्थ्यो। विद्यालयको पढाइमा भने हल्का कमजोर थियो । शिक्षकहरूले उसलाई ढिलो बुझ्ने विद्यार्थी भनेर चिन्थे। उसको पढाइको गति कमजोर थियो । गणितका अंकहरू उसलाई ढुंगाजस्तै भारी लाग्थे।

गोकर्णको मनमा एउटा विशेष गुण थियोउसले प्रकृतिसँग संवाद गर्ने शिल्प राख्थ्यो। नदीमा पौडिन उसलाई औधी रमाइलो लाग्थ्यो । पानीमा डुबेर उसले आफ्नो छुट्टै संसार खोज्थ्यो। नदी उसको साथी थियो । समय मिल्यो कि नदिमा पहिलो पौडिने काम उसैको हुन्थ्यो । पानी उसको कमजोरीलाई ढाकिदिन्थ्यो। 

विद्यालयको पढाइ कमजोर भएसँगै गोकर्णको बुझाइमा एउटा कठिनाई स्पष्ट देखिन्थ्योउसले अमूर्त कुरा प्राय बुझ्न सक्दैनथ्यो। अमुर्त शब्दहरू उसलाई के हो के हो लाग्थे। जब शिक्षकले खेत, नदी, वा गाउँको कथा सुनाउँथे, गोकर्ण तुरुन्तै बुझ्थ्यो । उसको मन दृश्यात्मक थियोउसलाई देख्नुपर्ने, छुनुपर्ने र आकृति मापन गर्नुपर्ने सिकाइले लोभ्याउथ्यो । 

देशमा माओवादी शशस्त्र द्वन्द्व चलिरहेको थियो। गाउँमा कहिलेकाहीँ बन्दुक पडकेको आवाज सुनिन्थ्योरातभरि डरको साम्राज्य फैलिन्थ्यो। विद्यालयमा पनि द्वन्द्वको छायाले पछ्याउथ्यो । कहिले पढाइ रोकिन्थ्योकहिले शिक्षकहरू गाउँ छोड्थे कहिले सेना प्रहरीको डरमा विद्यार्थीहरु विद्यालय भुल्न विवस थिए । द्वन्द्वले गाउँको शिक्षा र जीवन दुवैलाई कमजोर पारेको थियो।

गोकर्णलाई द्वन्द्वको अर्थ बुझ्न गाह्रो थियो। कसैले भने, “यो लडाइँ समानताको लागि हो।गोकर्णले सोध्थ्यो, “समानता भनेको के हो ? कस्तो हुन्छ ? कत्रो हुन्छ ?” उसका प्रश्न सुन्नेहरु हाँस्ने गर्थे । 

एक दिन गाउँमा माओवादीहरू आए। उनीहरूले सभा गरे। गाउँका मानिसहरूलाई सम्बोधन गर्दै भने, “हामी शोषण अन्त्य गर्न लडिरहेका छौं।गोकर्णले त्यो सुनेर घर फर्कियो। उसले आमालाई सोध्यो, “आमा, शोषण भनेको के हो?” आमा खेतमा काम गर्दै थिइन । उनले उत्तर दिइन्, “दाजु आयो भन्या सोध्नु उसले दाजुलाई सोध्यो र जवाफ पायो, जब कसैले हाम्रो मेहनतको फल खान्छ, त्यहि शोषण होला 

त्यो उत्तरले गोकर्णलाई केही राहत दियो। उसले सम्झ्यो नदीमा पौड्दा जब ठूलो छालले उसलाई तल धकेल्छ त्यो पनि शोषण जस्तै हो। जब उसले छाललाई चिर्दै माथि आउँछ, त्यो के हो त  उसले अमूर्त कुरा प्रकृतिसँग तुलना गरेर मात्र बुझ्थ्यो।

उसले शोषण र स्वतन्त्रता जस्ता शब्द बुझ्ने चेष्टा गर्दै थियो । दुर्भाग्यले एक दिन गोकर्ण नदीमा पौडिदा डुबेर मर्यो । गाउँभरि शोक फैलियो। शिक्षकहरूले भने, “पढाइमा कमजोर भए पनि उसको मनमा गहिरो संसार थियो। के उसले आफ्नो अनुकुलको संसार भेटायो होला । 

 

गोकर्णको मृत्युले गाउँलाई झस्कायो । गोकर्णको अन्त्य संस्कारमा गाउँका अध्यक्षले भने, “गोकर्ण पढाइमा कमजोर थियो । मलाई लाग्छ उसले नदीलाई बुझ्थ्यो । हामीले उसलाई आवश्यकता अनुसारका अक्षर सिकाउन सकेनौं उसले हामीलाई जीवन बुझ्ने तरिका सिकायो।  सबै मौन भए ।

 

 

No comments:

Post a Comment

Birthday and Cake

  Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with t...