Friday, November 29, 2024

बा! कान खोल

आफ्नै गरिबीले हो 

हामी झन झन गरिब गए‌को । 

अब भत्काउनु पर्छ गरिबीका पर्खाल 

चढ्नु पर्छ उन्नतीका शिखर 

एक अभाव छ बा 

 ल्यापटपको !


लैनो भैंसी बेच बा 

वा घाटकुलो लाग्ने खेत

नभए घरबारी बेचेर भएपनि 

किन्नु प‌र्यो नयाँ ल्यापटप 

त्यस‌पदि चढुला किर्तिपुरको डाँडोमा 

दिनमै छापौला नोटका बिटा 

फिर्ता ल्याउला घरबारी 

बनाउँला आलिसान महल

अनि फिर्ता बोलाउँला बन्धुहरु 

स्व बन्धक बनेर 

रोजगारको खोजमा हराएका 

कयौं देशहरूमा !


बा! आँट त गर 

किनिदेउ ल्यापटप 

बेरोजगार छोरो बेहोर्न सक्छौ? 

 गुम्नेछ  हाम्रो अंश  

मलाई अत्यास लागि सक्यो 

कुन कुनामा परिने हो  

सवाल अस्तित्वको छ 

बा! कान त खोल ! 

कुरा त सुन!

लाखको डाँडो


दाइ!

यो किर्तिपुर कहाँ पर्छ ? 

बेरोजगार भएर कयौं बर्ष बसेँ

हातमुख जोर्न मुग्लान पसेँ

मलाई पनि खाँचो छ केहि लाखको 

न्यानो पाउन मन छ आफन्ती काखको !


एक टुक्रो जमिन किन्थे 

एक सानो झुपडि बनाउथें 

टाल्थें होला आमाको फरिया 

फेर्न मन छ बाको दौरा 

न्यानो कपडा चाहिएको छ 

दुधे बालक र उस‌को आमालाई !


भाइ ! 

तिमी राजधानी पसेर हरायौं 

कतै किर्तिपुरको सुख सयलमा त छैनौ ?

 कि खोज्दै हो तिमी पनि 

कहाँ पर्छ किर्तिपुर भनेर !

ज्ञान किनेर अज्ञानी बनेर !


ए! काका

 उठ अब ! 

अबेर भैसक्यो 

सकिन सक्छ रोजगारी 

हात हातै बाँड्‌दैछ रे लाखका बिटा

लैजाउँ चाहिने जति 

बनाउदैछन्, बन्दैछन् सबैलाई ।


म पत्याउछु बा 

तिमी पनि पत्याउ 

भाइलाई भन 

काकालाई सम्झाउ

हामी सबै पत्याउँ 

नपत्याउनेले पत्याउने कुरा ग‌र्यो 

नेपाल हो 

बिकिरहन्छन् बकम्फुसे कुरा 

यहाँका भट्टीमा नेता उदाउछन् 

हामी हात जोडिरहन्छौं ।

देश छ 

राजधानी पनि छ 

डाँडाहरू पनि छन 

लाखौ मिल्ने किर्तिपुर छ 

तर परिपाटी छैन 

योजनाकार छैन 

कार्यान्वयन कर्ता छैन 

 छ 

पत्याउने जमात 

बकम्फुसे कुरा गर्ने नेता 

एक देश 

एक डाँडो ।

Tuesday, November 5, 2024

काला पहाड





बा !

तिम्रा पसिनाको रेखामा 

ढोग चढाएर पाइला चाल्दा 

न्यानो हात कुल्चेको अनु‌भूति 

द्रवीभूत बनायो ।


भित्ताको माथिल्लो ओठ‌मा 

गैंची र साभेलका खत देख्दा 

झर्दै गरेका दाँत सम्झिएँ  

मकै भटमास चपाएर 

भत्काएका थियौ ढुङ्ग्यान भित्ताहरू ?


फनफनी चढ्दा उकालो 

सिरीमिरी बाटने कपाल सम्झ्यौ बा ? 

तिमीले  सिकाउथ्यौ 

आमा नहुँदा 

बहिनीको कपालको बाटो बनाउन ।


उक्लदै घुम्ती 

चिसाे भएर ओर्लदा 

धामीबाको लट्टा झै‌ं !

धामीबाले पनि साभेल चलाए कि ?

आफ्नो शिखा जस्तै  बाटो बनाउन ।


लोटाको पानी जस्तो ताल 

होस फर्काउन लट्टा चोवेर छर्किने 

ख्याल छ नी ! 

झस्काउन एकसाथ उभ्याइएका छन् 

मन्दिर, मस्जिद, गिर्जाघर र गुरुद्वारा ।


जल्को मन्साउने चिसो पानी 

तालले ताजा तुल्यायो

स्वेदशमै भित्ता कोतर्न सक्थ्यौ नि बा 

हामी गर्न सक्थ्यौं सयर 

पहाड - बण्डाल - मधेस

रोकियौं युगौं युग।


थाह छ किन ? 

त्यो बेल्चा, गैंचीले जग बसाउथेन !

तिम्रा पसिनाले समृ‌द्धि उमार्थेन !

यहाँ चाहिन्थ्यो दिनहुँ बग्ने संयन्त्र !

त्यो बन्ने थिएन 

जसरी बचेको छ कालापहाड।

Sunday, November 3, 2024

को दोषी हो ?

 म दोषी या मेरो नजर दोषी हो ?

जवानी हो या त रहर दोषी हो ?


म अन्जान, भो म मात्र हैन होला !

दुइटै वैस‌को त्यो बहर दोषी हो।।


एकान्तता अनि छामछुम पन !

कोठा हो या तिम्रो त्यो घर दोषी हो।


ना रौनकता, न विशेष राम थ्यो ।

उशा ! विहानीको प्रहर दोषी हो।


कुतकुत्यायो भित्रैबाट दुबै जीउ -

जंगल हो, या कुनै बगर दोषी हो।

बिद्रोह

मार्क्सका ठेली मुन्तिर  इमाइल दुर्खिम अनि  इ. वि. टाइलरको  संरचनामा  नअटेपछि मेरो परिवेश  कसरी अटौंला र म  महोदय ?  ॐ मणि पद्मे हुँ -  शिरमा...