बा !
तिम्रा पसिनाको रेखामा
ढोग चढाएर पाइला चाल्दा
न्यानो हात कुल्चेको अनुभूति
द्रवीभूत बनायो ।
भित्ताको माथिल्लो ओठमा
गैंची र साभेलका खत देख्दा
झर्दै गरेका दाँत सम्झिएँ
मकै भटमास चपाएर
भत्काएका थियौ ढुङ्ग्यान भित्ताहरू ?
सिरीमिरी बाटने कपाल सम्झ्यौ बा ?
तिमीले सिकाउथ्यौ
आमा नहुँदा
बहिनीको कपालको बाटो बनाउन ।
उक्लदै घुम्ती
चिसाे भएर ओर्लदा
धामीबाको लट्टा झैं !
धामीबाले पनि साभेल चलाए कि ?
आफ्नो शिखा जस्तै बाटो बनाउन ।
लोटाको पानी जस्तो ताल
होस फर्काउन लट्टा चोवेर छर्किने
ख्याल छ नी !
झस्काउन एकसाथ उभ्याइएका छन्
मन्दिर, मस्जिद, गिर्जाघर र गुरुद्वारा ।
जल्को मन्साउने चिसो पानी
तालले ताजा तुल्यायो
स्वेदशमै भित्ता कोतर्न सक्थ्यौ नि बा
हामी गर्न सक्थ्यौं सयर
पहाड - बण्डाल - मधेस
रोकियौं युगौं युग।
थाह छ किन ?
त्यो बेल्चा, गैंचीले जग बसाउथेन !
तिम्रा पसिनाले समृद्धि उमार्थेन !
यहाँ चाहिन्थ्यो दिनहुँ बग्ने संयन्त्र !
त्यो बन्ने थिएन
जसरी बचेको छ कालापहाड।
No comments:
Post a Comment