मार्क्सका ठेली मुन्तिर
इमाइल दुर्खिम अनि
इ. वि. टाइलरको
संरचनामा
नअटेपछि मेरो परिवेश
कसरी अटौंला र म
महोदय ?
ॐ मणि पद्मे हुँ - शिरमा गुँथेर
भोटो, गुन्यू, चोलीमा सुसेली हालेर
कमिज र लुँगीमा पसिनाको सुगन्धले
भकारी भर्ने परिदृश्य
थान्को लगाइदिएर कुनामा
एकरूपताको नारा दिएर
कुर्लिने आधुनिकता !
जगविहिन उभिन हतारिने
मारूनी र रोधीलाई छुट्याइदिने
मुर्चुङ्गा र ढोलक मिल्काएर
डाँडा पाखा रन्किने भाकाहरु - आहा !
थमाइदिएर अर्कैको हात
नापेर भुगोल
भित्तामा कोरेर
पराधिनताको नक्सा
जहाँको हरेक चिजले गिज्याइ रहन्छ
र भन्छ
म तिम्रो भइसकेँ ,
वा तिमी मेरो भइसक्यौ
मोहित भएछौ वा बनेछौ
एकै भावमा सम्हालेर
शिरमा बसेर रजाइँ गरुँ
घाटीमा झुण्डिएर बाटो डोर्याउँ
वा नसा नसामा बगेर
सिध्याउँ तिम्रो स्वाधिनता
के हार स्वीकार गरौं त महोदय ?
अहँ
हुदैन
मलाई स्वीकार्य छैन
म मौन सहमतिको विरुद्ध
हमला बोल्छु
पुर्खाको योगदान भुल्ने
म कृतध्न भएको छैन ।
मुण्डन गरिदिन्छु शिर
धारेर स्व बस्त्र
कन्दमूलको शिकार गरेर
मलाई सुहाउने
आफ्नै पौरखमा रमाउन
र
भत्काउन यो कुटिल परिवेश
उजाडिएका सम्पदा
दर्ता चल्ने देवको बसाइँसराइँ
मास्न खोजेको इतिहास
आलाप गरिरहेको परिवहन
जहाँ
भोको र र्याल काढिरहेको
नुतन भेष छ
भन्छ
मलाई स्वीकार
महोदय
मलाई स्वीकार छैन
स्वार्थको आहाल बसेको
आँधिले उडाउने
सम्मोहनको जग ।
खोजी थालौं
स्वाधिनताको मुहान
औपचारिकता भन्दा वास्तविकता
प्वाल नपरेका सार्वभौम भित्ता
ताजा इतिहासको गर्व
सम्मान गर्न सकुँ आफूलाई
आफै बनाएर रम्न सकुँ !
महोदय भन्नुहोस
कसरी अटाउन सक्छु म
जहाँ
पराधिनताको सुगन्ध चल्छ
सर्ब हिनताको प्रबन्ध छ
लुटने लुटाउनेकै सम्बन्ध छ
ज्यूँदो लासको आनन्द
त्यो परिवेशमा म अटाउदैन
भन्नुहोस
के म अटाउँ त ?
No comments:
Post a Comment