Saturday, July 12, 2025

विवाह


 सिरेटोले हान्न सुरु गरेको थियो। हातमा पन्जा, टोपी र ज्याकेटमा एक बटुवा बाटो काट्दै थियो। बाटोको छेउमा अढेस लागेर कालिबहादुर र नन्दबहादुर बसेका थिए। छेउमा एक हुल मट्यारु थिए। हस्याङफस्याङ गर्दै मदनकृष्ण बुढा आइपुगे। बटुवालाई पनि थकान महसुस भयो होला, बस्यो।

मदनकृष्ण बोले, “नन्ने दाइ क्या छ तम्मो खबर?”

“आ! उसै त छ ऐ। क्या हुदो।” नन्दबहादुरले उत्तर दिए।

“तेरो क्या छ ऐ?” कालिबहादुरले कृष्णलाई सोधे।

“हतारमा छु ऐ दाज्यू, म गयाँ। पछ्याबाट कुडा गरौंला। मेरा पाठा भाग्या।” यति भनेर मदनकृष्ण बाटो लागे।

“क्या अरी ए नन्न, काण्ठाको ब्या भयोन?” कालिबहादुर बोले।

“आ दाज्यू, मेरा घर ब्या यसै त हो। जोई बस्या ब्या होला।” नन्दबहादुरको जवाफमा कालिबहादुरले टाउको हल्लाए।

बटुवाले उनीहरुको कुरामा चासो लिएको चाल पाएछ।

“यो नन्न मस्तै गफाडी छ, यैका गफ सुन हौ, म गयाँ।” कालिबहादुर बाटो लागे।

“तम्मा घरको ब्या कसो हो भन्न मिल्ला क्या?” बटुवाको प्रश्नले नन्दबहादुरले दाँत देखाए।

“ब्या का कुडा क्या अरुँ!”

“अहिले ट्याम नाइँ, पछि आया, सुनाउला।” नन्दबहादुर चुपचाप आफ्नो काम धन्धामा लागे। बटुवा बाटो लाग्यो। उसलाई नन्दबहादुरका कुरा सुन्न छटपटी लाग्न थाल्यो तर कुरा सुन्न पाएन।

करिब दुई महिनाको अन्तरालमा बटुवा पुनः त्यही बाटो हिँडिरहेको थियो। नन्दबहादुरले देख्यो र बोलायो।

“आज मेरो मन उज्यालो भया छ, ब्याका कुडा सुन्या भया बस।”

बटुवा त्यस्तै कुरा त चाहन्थ्यो। बस्यो। नन्दबहादुरले कुराको पोको फुकाल्यो।

“मेरा बाले जोइको खेलो गर्‍या, ति पन थारी होइनन् जत्कालै जत्काल बस्न्या। तीन मा, नौ टोका टोकी, तीन मर्‍या नतर बगालै हुन्या। यो काण्ठाकी जोई हो, ब्या भ्यानाई। बीस पुग्या पछि ब्या होला, अहिले उन्नाइसकी भई। आ! जोईका क्या कुडा गन्र्या। बा जोईऐ ल्याउना, दाइ जोइऐ ल्याउना। दाइकी नौ जोई पुगिन।” नन्दबहादुर रोकिए।

“हाम्मो बदनाम भयो। त्यै घर आइमाई टिक्दिनन् क्या गद्दा छन भन्या गाउल्याले। हामीले जोई पाएनौं। एकाले राडी आइमाई ल्यायो। एक डोल्पा गयो। एक जाजरकोटै छ। मैले यो अपाङ्गकन ब्या गर्‍याँ। कान सुन्नीन, लाटी छ। बा र दाइका व्यबहारले हाम्मो ब्या निको भयोन।”

No comments:

Post a Comment

Birthday and Cake

  Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with t...