Tuesday, July 22, 2025

ऋण मुक्ति र कविका गाथा


 

७८ साल, कर्णालीको ‘शिलाबास’ गाउँ। सरकारी ऋणमोचन अभियान चलिरहेको छ, तर गाउँ बौद्धिक र सामाजिक द्वन्द्वमा फसेको छ। सरकारले कृषकहरूको ऋणमुक्ति अभियान घोषणा गरेपछि गाउँमा २० वर्षदेखिको कर्जा समाप्त गर्ने प्रयास हुन्छ। तर समस्याको मूल पैसा मात्रै होइन—गाउँको चेतनामा भरिएको 'ऋण' हो। धिताल जस्ता यथार्थवादीहरू जो "कविता पढेर पेट भर्दैन" भन्दै भाषिक कला र साहित्यलाई तिरस्कृत गर्छन्  । उनलाई साथ दिने केही पात्रहरु सँगै छन। अर्कोतिर प्रज्वल विद्यार्थीसँग भाषा र संवेदनाका खेती गरिरहेका छन्। उनलाई भाषा जोगाउनु छ हरेक मनमा कोमलता भरेर काव्यको रस्वादन गराउनु छ र मुक्त पार्नु छ गाउँबाट भोक, रोग, अशिक्षा, गरिबी तथा उठाउनै नसकिने ऋणको भारी ।

“अब गाउँमा कविता होइन, कर्जा छुट हुने कुरा गर ! फाँटको धान बेच्न नपाउनेले कविता लेखेर के अर्थ?”  धितालले टोल सभामा उठेर भने। प्रज्वल चुप लागे। तर दत्त, कक्षा ८ मा पढ्ने बालक, गला सफा गर्दै उठ्यो—  “धिताल काका, म कविता लेखेर आमालाई हास्न सिकाउँछु, त्यो ऋणमुक्तिको पहिलो पाइला होइन र ?” सभामा हल्का हाँसो गुञ्जियो। धिताल झन् झस्किए। 

“बकबास ! अबदेखि यो गाउँमा र स्कुलमा कविता लेख्ने र कविताका कुरा गर्ने होइन, ब्याज छुटबारे पर्चा लेख! तिम्रा बाआमाले लिएको ऋण कति भएको थियो र त्योबाट किन छुटकरा पाउनु पर्ने छ त्यसमा चिन्तन गर ।”

नमूना माविको छुट्टी भइसकेको थियो। झ्यालका काँचहरू हावाको सुस्केरा सुन्दै कम्पन गरिरहेका थिए । प्रज्वल कक्षाको कुर्सीमा चुपचाप बसेका थिए—आँखा टोलाउँदै। बिहानको टोलसभा अझै कानभित्र गुञ्जिरहेको थियो—विशेषत: धितालको आवाज:“कविता पढेर पेट भर्दैन!”

 त्यो बेला भित्रबाट दत्त आएको थियो—कानसम्म पसिनाले भिजेको, तर हातमा जोरसँग कागज समातेको मुठा समातेको ।

“सर, मैले लेखें…”

प्रज्वलले मुस्कुराउँदै हात लम्ब्याए। कागज फुर्सदमा थिएन। शब्दहरू चिच्याइरहेका थिए।

“आमाको हातमा गाँठो हुन्छ 

 त्यो देखेर म अक्षर गन्छु 

 बाउको ऋणमा डुबेको खेत 

 कविता भएर म फिर्छु

यो कविताले ऋण तिर्छु ।”

 

प्रज्वललाई केही भनौं भनौं लाग्यो। तर आँखा रसाए मात्र।

---

 घर फर्कंदा उनले छातीभित्र गहिरो घाउ महसुस गरे। कक्षा ८ को बालकले ऋण, मजदुरी, र कविता तीनैलाई एउटै श्वासमा तानेको थियो।

 “धितालजी, तपाईंले महसुस गर्नुहुन्छ त—कविता भनेको चियो गर्न खोज्दै खेतको मुरी गन्दै जानु हो,” प्रज्वलले मनमनै सोचे।

त्यही रात उनले विद्यालयको ‘भाषा यात्रा’ पुनः सुरु गर्ने निर्णय गरे—जहाँ विद्यार्थीहरूले हरेक साता कविता, कथा, वा चिठी लेख्ने थिए।

---

 एक दिन धिताल विद्यालय परिसरमै आइपुगे। उनले पर्खालमा टाँसिएको दत्तको अर्को कविता देखे—

 “धिताल काका भन्नुहुन्छ– लेखेरै केही हुदैन 

 तर म त लेख्दै बाँच्छु,

मनैको भोक मेटिन्छ ।”

 

धिताल रिसाए। प्रधानाध्यापककहाँ उजुरी गरे—“यो कस्तो नमूना विध्यालय हो ? यहाँ पढाउने होइन कि भावनामा भुल्न सिकाउने, कस्तो अभ्यास चलेको छ ? भावनामा भुलाउने शिक्षण ले कसरी गरिब निमुखाको पेट भर्न सिकाउछ ? बडो भावनामा बहकाएर कविता उराल्ने!”

त्यस रात गाउँमा हल्ला फैलियो—“कविता लेख्नेले सरकारी राहत गुमाउने ?”

---

दोस्रो दिन प्रज्वलले भुषाल बुढालाई बोलाए। उनी पुराना दिनका साक्षी थिए। “बुढा बा, तपाईं के भन्नु हुन्छ—कविता सही हो कि ऋणमुक्ति सही?”

 

भुषाल बुढाले हाँस्दै भने—  “बाबु, ऋण कर्जा मात्र होइन—कविता नबुझ्ने मनपनि ऋणमै हुन्छ।  किसान र कवि दुवै माटोमा रम्छन्—अन्तर यति हो, एक जनावर जोत्न जान्छ, अर्को शब्द।”

---

 

शिलाबासको चौतारीमा बिहानैदेखि मानिसहरूको घुइँचो थियो। धितालको आवाज गुञ्जिरहेको थियो—“गाउँ बचाउनु छ भने हल्ला होइन, हलो चलाउनु पर्छ!” उनको पछाडि उभिएका थिए—कृष्णबीर, रामलाल, अनि मानबहादुर जसले पछिल्लो हप्ता सरकारी ऋण फिर्ता फारम भरेका थिए। “अबदेखि स्कुलमा कविता, गजल लेखे शिक्षकहरू कारबाहीमा पर्छन्!” धितालले घोषणा गरे।

सदानन्द मुस्कुराए। कान फन्क्याएर भने—“धिताल भाइ, कविता लेख्नेको हात बाँध्न मिल्दैन, ओठमा ताला लगाएर कविता मर्दैन।”

तर धितालको गह्रो स्वर फेरि आयो—“गाउँको ट्यांकी फुटिसकेको छ, काव्यमा पानी चाहिन्छ भन्नु के हो!”

---

शुक्रवार, विध्यालयमा बिहान कक्षा ८ का विद्यार्थीहरू चुपचाप थिए। दत्तले कविता कोरेको पाना झोलामा राखेको थियो, तर झिक्न डराउँथ्यो। प्रज्वल कक्षामा प्रवेश गर्दा कुनै आवाज उठेन।

 

“आज कविता लेख्दैनौं है?” उनले सोधे।

कुनै हात उठेन। एकछिन मौनपछि भित्रबाट लोग रावलले भने—“सर, हिजो आमाले भनिन्—धितालको रिसले काँप छुट्छ।”

 

प्रज्वल चुपचाप भए। त्यस दिन स्कुलको बोर्डमा पहिलोपल्ट “काव्य–मौन” लेखिएको थियो।

---

 

त्यसै बेलुकी सदानन्द, हरी, र भुषाल बुढा प्रज्वलको घर आए। सानो चर्पीघरको छानामा बसेर उनीहरूले चियाको कपमा कविता र आन्दोलन मिसाउन थाले।

 

“हामी नयाँ प्रयोग गर्छौं,” हरीले भने, “बालकहरू कवि छन्, हामी त माध्यम हो।” “भित्तामा फेरि कविता टाँसिन्छ,” प्रज्वलले भने, “र योपटक हस्ताक्षर ‘गाउँ’ हुनेछ।”

---

 

तिन दिनपछि गाउँको सार्वजनिक सूचना बोर्डमा एउटा नयाँ कविता टाँसिएको थियो—

 

 “ऋण फिर्ता लाज हैन 

 तर सम्झनाको मुल्य सस्तो भयो भने 

 माटो पनि चुप लाग्दैन 

 कविता त बोली हो— 

 हाम्रो भाषा, हाम्रो विरोध

हाम्रा आवाज बन्द हुदैनन्

जबसम्म यो प्रकृति चलायमान भइरहन्छ,

हामीलाई कविताले प्राणवायू दिन्छ

विचार दिन्छ,

तागत दिन्छ।”

 

सुचना बोर्डअगाडि मानिसहरू भेला भए। धिताल बिहानै त्यहाँ पुगे। कविता पढे। अनि एकछिन मौन बसे।

 

त्यही बेला दत्त अगाडि आयो, उसले कापी देखाउँदै भन्यो—“काका, अब तपाईं चाहनुहुन्छ भने तपाईंका खेतको वर्णन पनि कवितामा गरुँ। तर त्यो बिक्दैन—बाँचिन्छ।” धितालले केही बोलेनन्। कापीमा आँखा गाडे। त्यो दिन चौतारीबाट कविता हटाइएन।

---

साउनको पहिलो बिहानी थियो—शिलाबासको आकाश खुलेको थियो, तर गाउँको मन अझै पुरै खुलेको थिएन। केही दिनअघिको कविता निषेधको घटनाले धेरै बालबालिकाको मनमा डरको सन्देश बोकेको थियो। तर सानो अघोषित चेतावनीमाथि एउटा प्रतिबिम्ब जन्मिँदै थियो—शब्दहरू फेरि बाटो खोज्दै थिए।

---

 

एकदिन नमूना विध्यालयको भित्तामा टाँसियो—ठूला अक्षरमा: “शब्द उड्छन्, भाव बाँच्छ—शिलाबास काव्य महोत्सव आउँदैछ!”

आयोजक: कक्षा ८, ९ र १० का विद्यार्थी 

संयोजन: प्रज्वल 

अतिथि: भुषाल बुढा, मानबहादुर, र गाउँका स्रष्टाहरू

 

धितालले यो देखे। पहिले जस्तो चर्किएनन्। बरु मुस्कुराउँदै भने—“हेरुँ अब कविता पेट भर्न सक्छ कि सक्दैन।”

---

 

गाउँकै ठूलो पीपलको चौतारीमुनि मञ्च बनाइयो—थरथराउँदो बाँसका पोलहरु, घाँसको झुप्रोमा टाँगिएको व्यानर र पृष्ठभूमिमा “कविताका लागि बाँच्नेहरु” लेखिएको थियो।

 

शुरुआत दत्तको कविता वाचनबाट भयो। उसले भन्यो—

 

 “गाउँको ऋण जब बकस भयो 

किताब किन्ने रहर पलायो 

खेतका छातीमा अक्षर छर्छु 

कविता अब विउ बन्यो

उमार्ने छु अनेकौ रुपमा

पठाउनेछु बजारमा

आयो मेरो कविता आयो

लैजानुहोस आफ्नो अनुकुलका

प्रेमीका लागि श्रृङ्गारिक

क्रान्तिकारीका लागि प्रगतिशिल

यथास्थितिमा रहनेका लागि पनि छन

स्टलमा राखिएका कविता

धिताल काका! तपाई खेतको कविता लिने वा

किसानको कविता?”

 

त्यसपछि लोग रावलले बोले—

परदेशी हुँदा भाषै हरायो,

अब गाउँ फर्केर फेरी

कविताबाट पहिचान खोज्दैछु।

म कसलाई भनुँ

मेरो परिचय मेटेको पाटो

कसले सम्याईदिन्छ ?

 

धिताल कार्यक्रमको पछिल्लो छेउमा चुपचाप बसेका थिए। हरीले उनकै बारेमा लेखेको कविता पढ्न थाले—

 “उहाँले भनिदिनुहुन्छ—कविताको काम छैन 

 तर बिहानै उठेर गीत गुनगुनाउनु छ

लाग्छ फेरी

यस्ता कालजयी गित बन्नु पर्छ 

बालकहरू आहारा खोज्छन् भावमा 

उनलाई साहार दिनु छ

उहाँको आँखामा पनि शब्द बग्दछ

तर चाल नपाएर

शब्द शब्द नै रहन्छ

कि कुनै दिन गित बन्ला ?”

 

धिताल गम्भीर भए। ताली नरोकिने बेलासम्म उनी केही बोलेनन्। तर जाँदा–जाँदै भुषाल बुढासँग भने—“यी बालकहरू कवि मात्र हैनन, ठूला र महान किसान हुन—आशाको।”

---

महोत्सवको अन्त्यमा हरेक विद्यार्थीले एउटा शब्द आकाशमा पठाउने प्रस्ताव भयो। उनीहरूले रंगीन कागजमा कविता लेखे, चङ्गासँग बाँधे। चङ्गा उड्न थाले—शब्दहरू आकासोन्मुख भए।

 

दत्तले आफ्नो चङ्गामा लेखेको थियो—

 

“पेट भर्न सक्छ कविता होइन, 

तर मन बाँच्न त चाहिन्छ नि श्वास..

म हरेक स्वासमा कविता भर्छु

भन्नुस-

यसलेतपाईको प्राणमा आयाम भर्छ ?”

 

प्रज्वलले त्यो दृश्य हेरिरहेका थिए। उनी मुस्कुराए। नभन्दै, धितालले उनीसँग हात मिलाउँदै भने—“अब लाग्छ कविता बेकार छैन प्रज्वल–  त्यो चङ्गासँग उडेको भरोसा मैले देखे।”

---

 

शिलाबासको दिउँसो सुस्त थियो, तर धितालको मनमा आँधी चलिरहेको थियो। कविता महोत्सवको दृश्य उसले मनबाट हटाउन सकेको थिएनन्—बालकहरूको जोश, प्रज्वलको मौन समर्थन, अनि आफ्नै मनभित्रको केही अनौठो कम्पन। राति बलेनी नजिक बसी उसले एउटा कागजमा केही शब्द कोर्न थाले ।

 

“जसोतसो जोतेको खेत 

 जस्तोसुकै मौसमी व्यथा 

 म मान्दिनथें भावनाको खेती 

 आज भने म सानो बिरुवा जस्तो छु— 

 शंका र सम्झनाबीच उम्रँदै गरेको

कसैको गाईवस्तुले चर्छ कि

मैले उमार्दै गरेको शब्दको बिउ

म यसलाई के नामले पुकारुँ

के यो कविता त बन्दै छैन।”

 

उनी स्तब्ध भए—लेखेझैँ लागेन, उम्किएका जस्ता लागे। शब्दहरू उसले सधैं चिन्दा टाढा राखेका आवाजजस्ता थिए। शब्दमा प्राण छ जस्तो लाग्यो र लाग्यो आफ्नै आत्माको आवाज बोलिरहेका छन निर्जीव जस्ता जीवित शब्द ।

---

 

अर्को दिन बिहानै धिताल प्रज्वलको कोठामा आइपुगे। खल्तीबाट त्यो कागज निकालेर टेबुलमा राखे। “यो... मैले लेखेँ। कस्तो भयो?”

 

प्रज्वलले पढे—शब्द सरल थिए, तर बीजरुपी। उनले मुस्कुराउँदै भने—“धितालजी, तपाईंको यो लेखन त खेतभन्दा पनि गहिरो ठाउँमा जोतिएको जस्तो छ।”

 

धिताल पग्लिए—“मैले पहिला लेख्न नसक्ने ठानेको थिएँ। साँच्ची भन्नु त, जब दत्तले कविता सुनायो, मलाई लाग्यो, म केही छुटाइरहेछु।”

---

 

त्यो दिन कक्षा अन्त्य हुँदै गर्दा प्रज्वलले धिताललाई हलमा लगे। दत्त, हरी, लोग र अन्य बालबालिकाहरू त्यहीँ थिए।

“काका, तपाईंले लेख्नुभयो?” दत्तले चलाख आँखा झिम्क्याएर सोध्यो। “आहा, त्यो अब मेलामा पढ्नुपर्ने हुन्छ!” सबै तालि बजाउदै हाँस्न थाले। धिताल पनि हाँस्न थाले ।

---

 

साउन सकिंदै थियो। शब्दहरू अब गाउँको सासमा मिसिन थालेका थिए। कक्षा १० का छात्राहरूले अब आफ्ना हजुरआमाहरूका कुरा कविता बनाउँदै थिए—‘फूल नचिन्ने गीत’, ‘गोरुको नामहरू’, ‘बीउ थन्क्याउने मन्त्र’, ‘मेरो गाउँको भूत’………।

 

धितालले दोस्रो महोत्सवमा आफूले लेखेको कविता पढे।

 

 “कृषक थिएँ, यथार्थमा अडिएको 

 कवि भएँ, माटोले सिंचेको

 ऋण माफ भयो भनेर कागज आए 

तर यि शब्दहरू— 

उनीहरूले मल दिएजस्तै लाग्छ

अब उमार्ने छौ जीवन

प्राण दिएर

प्राण बचाउन ।”

---

 

कविता सकिँदा मौनता थियो। त्यो मौनतालाई भुषाल बुढाले टार्न खोजे— “धिताल भाइ, अब लाग्छ—कविता यति गहिरो हुन्छ कि ऋण पनि फेरि व्याख्या गर्नुपर्छ।”

---

 

शिलाबासको सुक्खा हावा फेरि कागज लिएर बग्न थालेको थियो—तर यसपटक त्यो कागज ऋण–छुटको प्रमाणपत्र थियो, जसमा सरकारी छाप लागेका अक्षरहरू थिए। गाउँमा हल्ला फैलिएको थियो—“अब सरकारी लेखापाल आउँछन, सबको ऋण माफ हुन्छ।”

गाउँलेहरू बेफुर्सदी थाप्लो समाउँदै बोल्थे, “अब कर्जा सकिन्छ, अनि छोरालाई स्कूल पठाउँछु।” तर केही कागज चुप थिए—कसैको बाबुको नाम अलपत्र थियो, कसैको ऋणको हिसाब हराएको।

---

एक बिहान शिलाबासमा बुट बजाउँदै सरकारी कर्मचारीको टोली आयो—दुईजना कर्मचारी, एउटा मोबाइल प्रिन्टर, एउटा सरकारी टेबल। धिताल उनै टेबलको छेउमा पुगेर भने—

“तपाईंहरूले त भन्नु भो, कागज हेर्न आउनु पर्छ। कागज त हाम्रा आँखा हुन्। बाँकी लेख्न त हामी बालकहरूलाई दिउँ।” 

कर्मचारी हाँसे र भने, “कवि त तपाईं पो हुनुहुँदो रहेछ, गाउँ कविहरुले बर्बाद गरे भन्दै उजुरी गर्न आउनुभएको थियो!”

धिताल केहि नबोलेर मुसुक्क मुस्कान दिइ गाउँतिर लागे ।

---

अहिलेसम्मको सबैभन्दा अनौठो दृश्य त्यसबेला देखियो, जब सरकारको “ऋण माफी” कागज वितरण सुरु भयो—त्यहाँ एउटा उक्ति लेखिएको थियो –

“त्यो खेत बाँझो थिएन—

कविता सुतेको थियो

अब ऋण उठेपछि

शब्द उम्रन्छ

र हामी फेरि हलो र हरफ एउटै पंक्तिमा समाउँछौं।”

 

दत्त त्यो कागज पढेर चिच्यायो—“सर, तपाईंको कविताको लाइन हो त यो!”

प्रज्वल मुस्कुराए—

“शब्द उडाउँदा

जति पनि आकाशले फर्काउँछ,

सायद यही फर्किएको हो।”

---

 

पाँच दिनपछि विद्यालयको भित्तामा गाउँलेहरूले आफ्नै ‘ऋण–छुट’ कागजहरू टाँस्न थाले—तर हरेक कागजमा उनीहरूले आफ्नै वाक्य थपेका थिए:

 

-कृष्णबीर: “ऋण त फिर्ता भयो, तर अब गरिबीलाई कवितामा गरौँ।” 

- मानबहादुर: “कागजले बल्ल मलाई बोल्न दियो—म प्रेमी होइन, पुस्तकमै थिएँ।” 

- लोग रावल: “परदेशमा पैसा थियो, गाँउमा हरफ हराएको रहेछु।” 

 

त्यो दिन गाउँलेले नमूना विध्यालयमा कागजको भित्तो मात्र बनाएनन्—त्यो एउटै पाठशाला थियो, जहाँ हरेक व्यक्ति लेखक थियो, पाठक थियो।

---

 

धितालले आफ्नै कागजमा लेखे—

 

“बीउ सदाबहार रहेछ 

यात्रा थालिएन छ, बुझ्न सकिन 

अब म किसान मात्रै रहेन—कवि पनि हो 

जसले खेतमा अक्षर राख्छ

उमार्छ हरेक गराका आलीमा

युग उद्वेलित गर्ने विचारहरु।”

 

भुषाल बुढा मुस्कुराउँदै चिया पिउँदै थिए, अनि सुस्त आवाजमा भने—

“यो हो गाउँको ऋण–मोचन –

जहाँ शब्दले छुट गर्छ,

आत्मा बाँच्न थाल्छ।”

 

शिलाबासको भित्ताहरू अब चुप थिएनन्—त्यहाँ शब्दहरू उम्रिरहेका थिए, बिउ झैँ। ऋणमाफीका प्रमाणपत्रहरूले यति अर्थ बोकेको कहिल्यै देखिएको थिएन। त्यो अर्थ न पैसामा सीमित थियो, न जमीनमा—त्यो आत्माको भाषा थियो। 

----

विद्यालयले नयाँ कार्यक्रम घोषणा गर्‍यो – “कविता कर्जा संग्रहालय” स्थापना।

 

---

 

विद्यालयको पर्खालछेउ एउटा खाली कोठा थियो—बढी न त लामो, न चौडा। त्यहीँ दत्त, हरी, लोग र बाकी काव्यप्रिय विद्यार्थीहरू भेला भए। प्रस्ताव थियो: - गाउँलेहरूले पाएको ऋणमुक्ति कागजलाई साथमा राख्दै आफ्नो अभिव्यक्ति—एक पंक्ति कविता, चिठी, वा सम्झना लेख्ने। 

- त्यसपछि त्यही शब्दलाई काठको खापमा टाँस्ने। 

- प्रत्येक खापा एउटा बीउ हुनेछ—सम्झनाको, आत्माको।

 

धितालले यो सुनिरहँदा गहिरो सास फेरेर भने - “बीउ चाहिँ अब शब्दबाटै आउँछ।”

---

मानबहादुरले सधैं प्रेमपत्र लेखेर गुजारा चलाउने गरेको कथा विद्यालयमा धेरैलाई थाहा थियो। उनले खापामा लेखे –

 “ऊ फर्किएकी छैन, तर ऋण माफ भएपछि

 म उसलाई अब शब्दविना चिठी लेख्न सक्ने भएको छु।”

 

त्यो पंक्ति पढेर प्रज्वलले भने—“मानबहादुरका चिठीहरू पनि संग्रहालयको अमूल्य सम्पत्ति हुन्।”

---

कक्षा ५ का साना साना बालबालिकाले चित्र बनाउने थाले—

- एउटा चित्रमा ऋणपत्रलाई फूल बनाइएको थियो। 

- अर्कोमा बाउ–छोरी मिलेर कविता लेखिरहेका देखिएका थिए। 

- लोग रावलको भाइले बिन्ती लेखेको थियो: "शब्दहरूसँग समय नाफा बाँडौं।"

सङ्कलित सामग्रीलाई गाउँकै पुरानो रैनादेवी चौतारो नजिकको परालले छाएको कोठामा राखियो। कोठाभित्र झुण्ड्याइएका थिए—

 

- बीउ झैँ कविता टाँसिएका फुलो कागज 

- माटोको जारभित्र राखिएको "पहिलो बाउले छोएको चिठी" 

- एकजना विधवा आमाले लेखेको एक लाइन कविता - “ऋण त माफ भयो, अब त नातिको सपनाको ऋण बाँकी छ।”

सङ्ग्रहालयको ढोका माथि लेखिएको थियो – “ऋणको फिर्ती प्रमाण होइन, शब्दको बीउ राखिन्छ.”

---

संग्रहालय उद्घाटन भएको रात एक किसिमले सांस्कृतिक मेलाजस्तै भयो। दत्तले कविता वाचन गर्‍यो, मानबहादुरले चिठी पढे, प्रज्वलले बालकहरूको कविता सङ्कलन पुस्तकको घोषणा गरे - “शब्द–ऋणको स्मारक”।

 

धिताललाई त्यो साँझ कोठाभित्रको एक कुना निकै मोहक लाग्यो—त्यहाँ एउटा खापा थियो, जसमा दत्तले लेखेको थियो:

“गाउँको ऋण फर्काउँदा

आकाशको ऋण भुल्न हुँदैन— 

 कविता त्यही आकाशको एक बाँजो लहर हो।”

 

धिताल आँखा भिजाउँदै मुस्कुराए। “अब साँचो ऋणमोचन त यतै हुदोरहेछ,” उनले सुस्त स्वरमा भने।

---

 

वर्ष ८०। नेपाल सरकारले देशभरका विद्यालयहरूमा “संवेदनशील अभिव्यक्ति र मातृभाषा–संरक्षण” अभियान सुरु गर्‍यो। नाम थियो – “शब्द–मुक्ति वर्ष”। जब समाचार शिलाबास आइपुग्यो, मानिसहरू मुस्कुराए—किनकि उनीहरू पहिले नै त्यो अभियानको अन्तरात्मा बाँचिरहेका थिए। उनिहरुले बाँचिसकेको समय देशले अंगिकार गरिरहेको थियो । उनीहरुले आफू देशभन्दा केहि कदम अगाडि बढिसकेको महसुस गरे ।

शिलाबासको सानो “कविता कर्जा संग्रहालय” अब स्थानीय सरकारले आधिकारिक मान्यता दिएको थियो। उद्घोषणा कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले भने -

“शब्दहरूले ऋणमुक्तिको लागि

अवधारणा बने

नयाँ परिभाषा बोकेर

प्रदेशमा छाउनेछन्

यो संग्रहालय हो

अब प्रदेश–उत्कृष्ट

शैक्षिक नवप्रयोग घोषणा गरिन्छ।”

 

त्यो दिन दत्त, मानबहादुर, र लोग रावलको आत्मा झनझन चम्किएको थियो। धितालले मुस्कुराउँदै भने - “अब त कागजमा लेखेर मात्रै होइन, बिउ रोपेर पनि कविता उमारिन्छ।”

 

---

 

धिताल, जो पहिले “कविता बेकार” भन्थे, अब विद्यालयसँग मिलेर एउटा खेत छुट्याउँथे - त्यस खेतमा हरेक अनुबन्धित किसानले एक अक्षर लेख्ने चलन सुरु भयो। खेतको छेउमा टाँसिएको बोर्डमा लेखिएको थियो –

“यहाँ बीउसँगै शब्दहरू रोपिन्छन्

फसल प्रेम, स्मृति, र नासोको हुन्छ

के तपाईको नासो पनि छ?

आफै सुरक्षा दिनुहुन्छ वा

हामी सुरक्षित गरिदिउँ?”

 

विद्यार्थीहरूले बीउ रोप्दा त्यसको छेउमा ‘एक पंक्ति कविता’ लेखे। जस्तै-

 

- दत्त: “धानको मोल थाहा छ

आँखा बिथोल्ने घाटा मोल्न सक्दिन।” 

- लोग रावल: “परदेशको पसिना फिर्ता ल्याउने च्यानल

- भाषा!” 

- मानबहादुर: “प्रेम त रोपिन्थ्यो,

कविता भएर टिपिन्छ अब।”

---

 

एक दिन विद्यालयमा शिक्षा मन्त्रालयबाट चिठी आयो। शिलाबासको नमूना मा.वि. र “कविता–कर्जा संग्रहालय”लाई राष्ट्रिय शिक्षासंवाद– ८१ मा प्रतिनिधित्वका लागि आमन्त्रण।

 

प्रज्वल भावविह्वल भए। उनले सोचे—दुई वर्षअघि कविता लेख्दा दत्त डराउँथ्यो, आज ऊ राष्ट्रकै प्रतिनिधि भएको छ।

उनीहरूले तयारी सुरु गरे। विद्यार्थीहरूको संयोजनमा बन्यो नारा - “ऋण होइन,

आशाको कागज लेखौँ।

हाम्रा शब्दहरू मात्र होइन,

देशलाई ऋणमुक्त पारौँ।

एक्लै यात्राले थकाउछ

आउ, सबै मिलेर सँगै बढौं ।”

 

---

साउन १ गते। गाउँलेहरूले “शब्द–मुक्तिको उत्सव” मनाए।

 

- छोरीहरूले मातृभाषामा कविता वाचन गरे। 

- बाआमाले गाएका लोक गीतहरू रेकर्ड गरियो। 

- अन्त्यमा, हरेक व्यक्तिले आफूले कसरी शब्दले छुट पाएको हो भन्ने एक लाइन लेखे।

एक वृद्ध आमाले लेखिन् - “छोराको मरणपछिको चुपलाग्दो सास-

     कविताले बल्ल खोलिदियो।”

---

 

प्रजन्य खेतको डिलमा एउटा शिलालेख बनाइयो। त्यहाँ एउटै पंक्ति लेखियो - “जब ऋण फर्क्यो शब्दबाट, देशको आत्मा मुक्त भयो ।”

 

प्रज्वल, धिताल, भुषाल बुढा, र सम्पूर्ण गाउँका मान्छेहरू त्यहाँ उभिएर एकछिन मौन रहे। त्यो मौन अब विरोधको थिएन—संवेदनाको थियो। परिवर्तनको थियो। स्वतन्त्रताको थियो।

 

 



No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...