आध्यात्म र धर्म
गोलबद्ध गर्यो -
जस्तो हामी अक्सर गर्छौं !
अन्धकारको डोरी - सर्प
आवश्यक उज्यालोको जोहो -
तपमा आश्रित रहनु
परिश्रम कल्पना बाहिर
मोहजालको आनन्द
पसिनामा कसरी नाप्नु
गन्तव्यमा विविधता देखिन्छ कि –
वा देखिदैन! हुनसक्छ कि सभ्भावना ।
लासमाथिको अधिपत्य
रक्त आहालको लागि र्याल
तमस कर्म
प्रखरित भइरहन्छ
बेला - मौका पर्खिन पर्दैन
अधैर्य भए पुग्छ
चेतनाको धिपधिपे दियो
निल्न सक्छ अन्धकार
यात्रा - आरोह अवरोह
अवरोध पनि मिसिएको संघर्ष !
कित्ता अलग रहन सक्छ
एक हुन सक्छ
जब कित्ताको ज्ञात रहन्छ
अन्यथामा
स्वयम् जवाफदेही बन्नु प्रभु !
रोग र चिन्तन अलग प्रवृत्ति हुन
जस्तो कार्वन र फलाम
सुन र तामा
हलुका पारौं -
हाइड्रोजन र हिलियम
वा जोडौं -
जीवको प्राण वायू
वनस्पतिको खाद्य
मौनतामा सोच्नु
जान्दैन
खित्का छाडेर हाँस्न मान्दैन
कहिल्यै परावर्तन पनि हुन्छ
के भन्छ विज्ञान - खै
शुन्य हाँसेर गम्छ
सत्यको तृष्णा रोग हो त ?
वैदिक ऋचा प्रमाणमा उभिन्छ
'सत्यं वद, धर्म चर'
सत्य बोल्न र धर्ममा चल्न
कदम उठाइयोस्
त्यो धर्म शास्वत होस्
न थानमा रगतको होली बनोस्
डर र आशाको खेल खेलाउने
जो उभियोस - कथित धर्म माथि
भर्न सकोस आध्यात्मिक चेत
यहि मेरो अन्तिम स्वास बनोस ।
नित्सेले भने -
'मान्छेले आफूलाई पार गर्नुपर्छ'
प्रयत्न जारी छ -
अहँकारका धुजा धुजा बनाएर
आत्मिक उँचाइ
जीवान्तर जान्दैन
कमिला होस वा हात्ती
सर्प होस कि चिल
मृग होस कि बाघ
एक हो - जो शून्य !
कन्फ्युसियस मानवताको मार्ग हिँडे
ए साथी ! सुन
मानवताको मार्गमा
कृतज्ञताको फूल रोप्छु
भष्म गरेर स्वयमलाई !
उभ्याउनु छ यि हरफहरुमा -
बुद्ध - बुद्धत्व र प्रेम
दुःखको मार्गमा कारण र निवारण
खोज्दा खोज्दै बाँडन सके
करुणाका अनेकौं कहानी
करुणाको उज्यालोबाट
तिमीलाई धन्यबाद अर्पण गर्छु
सधैं भरिरहोस हृदय
करुणाको तरलताले
कहिल्यै सुक्न नपरोस्
ओठ - तालु
आवेग र क्रोधका लाप्काहरुले
प्रभु करुणा बर्सिरहोस
अनन्त अनन्तसम्म !
म भौतिक - कारण नरहुँ
आत्मिक ज्ञात फेलियोस्
हरेक हाँसोमा प्रथना मिसियोस्
शान्तिको स्वासले भरियोस
यो - सानो ! छाती
सत्य साक्षत्कारहोस्
सत्य सर्व एकनास
सापेक्ष भन्दा टाढा
चलिराखुन पैतलाहरु ।
उसले भनोस -
म मनोरोगी हैन
चिच्याएर भनोस
सर्व थर्कमान हुने गरी
एक यात्रु हुँ
यात्रामा छु
गन्तव्य एकै कसरी बनाउछौ-
त्यो यात्रा
ग्रहण लिप्त नजरबाट कोसौं टाढा
सत्य - करुणा - मानवता
यात्रा - आत्म उत्कर्षको ।



