बजारको एक कुनामा बनाइएको त्यो पुरानो होस्टेल, पहाडमा चिसो बढने तरखर गर्दै छ । चिसो साँझ अझै चिसो देखिन्थ्यो। तीनजना पात्रहरू—प्रकाश, सोम र भुवन—पछिल्लो ६ दिनदेखि निद्रा विहीन थिए। रातको समय उनीहरूको लागि अन्धकार मात्र होइन, अतीतको छायाँ बोकेको एक असह्य पीडाको यथार्थ बनिसकेको थियो।
तीनै जनाको साझा चिन्ता थियो—अन्तर्वार्ता। सरकारी शिक्षक सेवाको अन्तिम चरणको मूल्यांकन। दिनभरि तयारी गर्थे, तर रातमा मन त उत्तेजनाले विछिन्न हुन्थ्यो।
मुख्य पीडा केवल अन्तर्वार्ता थिएन। ती तीनका जीवनमा अरू एउटा अदृश्य वियोग पनि थियो—आफ्ना जीवनसंगीहरूको टाढापन। तनाव बिचमा ती युवाहरूका मनमा गहिरो छटपटी थियो। उनीहरू शारीरिक सम्बन्धभन्दा पनि आत्मिक संलग्नताको अभावमा पोलिइरहेका थिए।
प्रकाश रातको दुई बजे उठ्थ्यो। ऊ शिरकमा बेरिएको काखमा मोबाइल हेरिरहन्थ्यो—पहिले श्रीमतीसँग भएका सन्देशहरू। “दिउँसो न फोन गर्छ्यौ, न म्यासेज,” भन्थी उसकी श्रीमती। उसले उत्तर दिने शब्दहरू हराएको महसुस गर्थ्यो।
सोम अध्ययनमा लिप्त देखिन्थ्यो। ऊ शिक्षणदर्शनको किताब पल्टाउँथ्यो, अनि नोट लेख्थ्यो। तर उसका लेखिएको शब्दहरू बीचबीचमा श्रीमतीको नाम देखा पर्थ्यो—“अनिता,” अनि छेउमा: “क्याप्सुल किन सकियो ?”
भुवन अलि मौन थियो। ऊ प्रायः छतमा पुग्थ्यो। ऊ क्षितिजमा हेर्न खोज्थ्यो—घर देखिन्छ कि भन्ने आशामा। उसलाई निद्रा छैन भन्ने थाहा थियो, तर निद्रा ल्याउने उपाय के? उसले एकदिन भन्यो “हामीलाई न परीक्षा चाहिएको छ, न किताब। हामीलाई 'क्याप्सुल' चाहिएको छ—सामिप्यको।”
एक साँझ तीनैजना एउटा औषधि पसलमा पुगे। पसलेलाई सोधे, “अलिक निन्द्रा लाग्ने औषधि छ?” पसलेले मुस्काउँदै भन्यो, “छ, तर मनको औषधि छैन। त्यसको क्याप्सुल तपाईंको घरमा छ।”
ती दिनपछिका साँझहरू उनीहरूले आफूलाई सम्झाउने कोशिश गरे। अन्तर्वार्ताको तयारीजस्तै, सम्बन्धको पुनर्स्थापनाको तयारी पनि गर्न थाले। प्रकाशले श्रीमतीलाई पत्र लेख्न थाल्यो—नखुल्ने भावनाहरूको शुद्ध शब्दमा। सोमले अनितालाई आवाज पठायो, र फोनमा संवाद खोल्न थाल्यो। भुवनले त मोबाइलमा अडियो कथा लेख्यो—"क्याप्सुल" नामक। “क्याप्सुल त शरीरको होइन, सम्झनाको अभावको हो।”
अन्तर्वार्ताको दिन आयो। उनीहरू शान्त थिए। तनाव त थियो, तर त्यो पहिलेकोजस्तो चिसो थिएन। मनमा अब एक प्रकारको प्रकाश थियो।
अन्तर्वार्ता सुरु भयो। उत्तर त सबैले दिए, तर उत्तरभन्दा बढी आत्मपरिचयले प्रभवित गरे। उनीहरू न केवल शिक्षक बन्न तयारी गरेका थिए बरु उनिहरु मानवतामा बाँच्ने प्रण गरिरहेका थिए। बाँच्नका लागि मात्र पढ्नु हुँदैन, बुझ्नका लागि पनि चाहिन्छ। अनि त्यसको "क्याप्सुल" संवेदना हो।
No comments:
Post a Comment