Monday, October 7, 2024

सुन कान खोलेर


सुन ! एक पटक सुन 

 यो देशका शासक हो 

एक पटक कुरा त सुन 

जनता बोल्दा कान नथुन ।


भोट माग्दा हात जोड्यौं 

काम गर भन्दा हात छोड्‌यौ 

कति छिटो नाता जोड्‌यौं 

त्यति छिटो त्यस‌लाई मोड्‌‌यौ ।


सडक हिडन नमिल्ने बन्दैछन 

धारामा पानी आउदैन 

बिजुली, शिक्षा, स्वास्थ्य हेर त 

तिमिलाई लाज लाग्दैन ?


जहिल्यै आफ्नो पेट भर्ने !

भाषण ठूला ठूला गर्ने ? 

भनन् जनता कहिलेस‌म्म मर्ने ?

 फेरी पनि तिम्रै भर पर्ने ?


आस देखायौ ठूलाठूला 

हरेक ठाउँमा बनायौ दुला 

उ कसरी हेर्ला म कसरी हेरुँला 

अर्को चुनावमा तिम्रो विचार गरुँला।


ए जनता!

विकास‌को नाममा त एक बन

 तिमीलाई के के चाहिरेको छ भन

 यि नेताका गुण एक चोटी सम्झ त !


थुक्न मन लाग्दैन र यिनलाई

सपनाहरु बनाए‌का रंगिनलाई 

एउटै कामको लागि दौडधुप हिडाई 

के अझै बाँकि रह्‌‌यो र चिनाई ?


भो! कुरा गर्दा गर्दै थाकिन्छ 

हेरौ अर्को पल्ट कहाँ राखिन्छ 

छट्टै संगठन बनाउन लागिन्छ 

देश द्रोही भ्रष्टलाई जेल जाकिन्छ ।

Friday, October 4, 2024

कहिलेसम्म ?

ए! सप्तर्षी! 

तिम्रो समुहमा हेर- 

पहिलो लहरको अन्त्यमा 

गद्वि‌शिन महोदय ज्ञात विक्षिप्त हो ?

वा 

बनाउनु पर्ने बामनी बज्यै ! 

त्यो चित्कार 

स्वयम्बरमा  निस्केन र ? 

अहो! महोदय!

ज्ञात गरेर बोल्नुहोस 

स्वीकार्नु छ सम्प्रभुता 

भन्नुहोस 

अब म कुन युगमा अवतरित होउँ? 

जहाँ पनि उभिने छिद्रहरु छन् 

सुन्न सक्छु, बामनी बज्यैहरु 

उनीहरूका क्रन्दनहरु !


राजाको कामदण्ड 

धारक स्त्री भएपछि

खन्याउनु प‌‌र्यो पूर्ण 

थोपरेर असह्य भार 

ज्ञानले शुसोभित 

सुन्दा सुन्दैका हैकम 

शक्ति न्यायले नाप्न सक्दैन 

तराजु परिभ्रमणमा

तौलिदैननू कर्तुत 

किन कि


ऊ - तिम्रो वर्ग भ्राता 

ज्ञातले आँखा चिम्लिउन 

अज्ञात! अज्ञानमै बसुन !

बुलन्द बनोस शंखनाद 

बदल्न सक्ने रूपहरू अनेकौं ।


श्रापको माला बुनेर 

पहिराउनु पर्ने उम्किएपछि 

बनेको पहिलो प्रहर 

निरन्तरता पाइरहेको छ

के यो जारी रहिरहन्छ?

प्रयोगवादी कविता ‘कैयौं एकहरु’ : कठिन तर, उत्कृष्ट

 लर्निस खबर

नेपालगन्ज, १७ असोज

कविता संग्रह “कैयौं एकहरु’’ प्रयोगवादी कविता भएको समिक्षकहरुले बताएका छन् । भिम प्रज्वलको कविताकृती “कैयौं एकहरु’’ माथि टिप्पणी गर्दै समिक्षकहरुले उक्त कृति कठिन तर, उत्कृष्ट भएको बताएका हुन् । कवि प्रज्वलको कृतिमाथि समिक्षक केआर ओली, मीना बराल र राजकुमार थारूले समिक्षात्मक टिप्पणी गरेका थिए ।




सर्वदा साहित्य संगमद्वारा नेपालगन्जमा आयोजित एक समारोहमा कृतिमाथि समिक्षात्मक टिप्पणी गर्दै राजकुमार थारूले पुस्तकमा रहेका छोटा कविताहरु सरल भएको तर लामा कविताहरु बुझ्न सहज नभएकाले सो किताब पढदा मेहनत गर्नु पर्ने बताए । उनले उक्त कृतिमा भएका कवितामा कविले लय र छन्दको संरचना भन्दा पनि भावलाई र विचारको अभिव्यक्तिलाई प्राथमिकतामा राखेको बताए । साथै उनले कृतिलाई पाठक माझ पस्कंदा सजिला कविताबाट सुरु गरेको भए अँझ उत्कृष्ट हुनेमा जोड दिएका थिए ।


त्यस्तै समिक्षक मिना बरालले भाषिक तत्व, भाषिका लगायतका विषयमा रहेका सबल र दुर्बल पक्षको विवेचना गर्दै कविले आफ्ना कवितामा गरेको दैलेखी भाषिकाको प्रयोगको प्रशंसा समेत गरिन् । यनले यस्ता कविताहरु २०१७ सालतिर मोहन कोईरालाहरुले लेख्ने गरेको बताउदै समिक्षक बरालले यो कृति प्रयोगवादी कविता भएको बताईन् । ‘यो प्रयोगवादी कविता संग्रह जस्तो भएको छ । यस्ता कविताहरु बुझ्न कठिन हुन्छन् । तर, उत्कृष्ट हुन्छन् ।’–बरालले भनिन् । ‘यो कृति मिक्स भेज जस्तो भएको छ । त्यो किनभने, यस कृतिमा लामा छोटा तथा ठिक्कका कविता छन् ।’


समिक्षक के आर ओलीले पनि कृति परक समिक्षामा रहदै “कयौं एकहरु’’ फरक प्रकृतिका कविताको सङ्ग्रह भएको चर्चा गरे । उनले भने,–‘ कविता कृतिलाई प्रायः संक्षिप्त र सार्थक शब्दहरूको प्रयोगमा आधारमा लेखिएको हुन्छ, जसले पाठकलाई भावनात्मक रूपमा छुने र गहिराइमा लैजाने प्रयास गर्दछ । यो कृति पनि केहि हदसम्म त्यसमा सफल भएको छ । यद्यपी यस कृतिमा लेखिएका कविताहरुमा कता–कता स्वचालित\अवचेतन लेखन हो भन्ने भान हुन्छ ।’


साथै उक्त कृतिले आध्यात्मवादी दर्शन र योग दर्शनलाई जोड दिएको समिक्षक ओलीले बताए ।

कृतिमाथि गरिएका टिप्पणीहरुको जिज्ञासा मेटाउदै कवि प्रज्वलले आफ्नो कविता संग्रहले ‘अ–प्रतिनिधिको पनि प्रतिनिधित्व बोल्ने बताए । उनले भने,–‘मैले मेरा कविताहरु लेख्दाखेरी केहि त्यस्ता छिद्रहरु राखेको छु । ति छिद्रहरुले ‘नन रि–प्रिजिन्टेसन’ लाई ‘रि–प्रिजेन्ट’ गर्छन् । यद्यपी यस्ता कविता आम मान्छेहरुले पढ्दाखेरी एकै पटकमा नबुझ्न पनि सक्छन् ।’

४४ वटा कविता भएको उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य श्री महानन्द ढकालले विहिबार विमोचन गरेका थिए ।




Sunday, September 29, 2024

मैले पढाउन जानेन

 श्रीमान् 

तर्क पेश गर्न जान्दैन 

प्रमाण जम्मा भएन 

म नजान्ने भएरै हो 

यो सबैथोक अपुग भएको 

मैले पढाउन जानेन ।


मैले सुनाउन खोजें कथाहरु 

विद्यार्थीले इन्कार गरे 

यो परीक्षामा नआउने कुरा 

सुनेर समय किन बर्वाद गर्नु 

अनि चल्न थाले कक्षामा 

गुन्जाएर हल्ला 

सुन्न चाहनेहरू पनि आजित भएपछि 

म कक्षाबाट निस्किएं । 

बनाएर योजना 

भोलि बोल्ने अभ्यास गराउने छु।


बोकेर चार पाँच तस्विर 

पसेपछि कक्षामा 

खासखुस भएको थियो 

जब सेतोपाटीमा पढाइ शिक्षण लोखियो 

कक्षामा सन्नाटा छायो 

लाग्यो केहि दुः‌खद घटना भएको छ 

तर विडम्बना 

बोल्नु पर्छ भनेर मौन भएछ कक्षा 

जहाँ बोल्न खोज्नेहरू पनि हतास भैदिए 

समय मापनमा बस्नेले 

मुस्किलले नापेथ्यो बाह्र सेकेण्ड 

तर उभिन भने समय घर्काई घर्काई उभिए ।


पाठ फेरि फेरी पढाउन थाले

पढाई शिक्षण

लगाएपछि पाठ पढ्न

लगलगि काँपेर हो निस्किएका अपुरा शब्द

अर्थसंग वेपर्वाह !

वाक्य गठन-अहो यो त ग्यात भए पो !

प्रयोग ?

कहाँ गर्नु र 

घरमा - शब्द उच्चारण भन्दा बढि मौन हुन्छ 

जानेको २० सेकेण्ड‌‌को गित मात्रै हो 

गाउन होइन

 ओठ संचालन गर्न मात्र 

आमाबा कुराभन्दा कयौ टाढा 

सादृश्य उमेर 

इसराले चलिहाल्ने 

लुटेर शब्द‌को अस्मिता 

टुङ्ग्‌‌याइएका टुक्राहरु 

बोल्न मात्र हो आउने 

दृश्य यति मधुर कि कालरात्री झै 

मैले पढाउन जानेन श्रीमान । 


सजिला किताबका नाम लेखें 

विद्यार्थीले हेरे मात्र 

किताब भनेपछि पसिना निस्कने 

पाप लाग्छ जस्तो ठान्ने समाजमा 

किताबै किताबका कुरा गरें ।

पढ भने ।

पढ्ने तरिका बताएं ।

पाठ्यक्रम बताएँ । अहं !

त्यसो गरेर पढाइदो रहेनछ 

लेखिदिनु पर्ने उत्तर पुस्तिकामा

उत्तर बनाइ‌दिनु पर्ने 

पास 

बढाइ‌दिनु पर्ने कक्षा 

पुग्नु पर्ने परीक्षा केन्द्र 

चिट चोराइ‌दिनु पर्ने 

सम्मान गर्नु पर्ने 

यस्तो पढाउन सकेन श्रीमान ! 

मलाई माफ गर्नु होला ! 

म यस्तो पढाउन जान्दैन । 

यो ल्याकत भएन मसँग !

Saturday, September 28, 2024

यात्रा

 ए मुसाफिर 

तिम्रो यात्राका चुनौतिहरु

 ज्ञात हो कि अज्ञात? 

को बताउन सक्छ ?


भएन भने टेक्ने  धरातल 

न भए पछि स्व हात सहारा 

भर पर्नु पनि निरर्निरर्थक हुनसक्छ 

सम्झाइ रहेको छ आँखिझ्यालबाट ! 


मजबुतिको निर्माण 

कुन आँधीले उडाइ‌दिन्छ 

कुन तुफानले हुत्याइदिन्छ 

एकहोरो प्रवचन मुग्ध छ 

उसले थुनिदिएको छ कयौं मार्ग ।

छटपटी


ज्ञातले पनि ज्ञात मान्दैन 

किन ?

सत्य स्विकार गरेरै पनि 

सत्य मान्दैन किन ? 

उत्तरमा के देखिन्छ?


अह! ज्ञात नभएपछि 

कसरी कामलाग्न सक्छ ?

तिम्रो छटपटी!

Thursday, September 12, 2024

ध्रुव

समयले यसरी पर्खिन भर हुन सिकाएको छ । 

जल हुन, पवन हुन, पत्थर हुन सिकाएको छ ।


कुन सम्झौतामा राजी भएको हो कुन प्रहरमा ? 

कठोर बनायो त्यसरी तत्पर हुन सिकाएको छ ।।


ज्योति निस्कियोस् अन्धकारको गर्भबाट सहजै 

लुप्त छ जसरी त्यसैगरी प्रखर हुन सिकाएको छ।।


कति बताउनु सन्तुष्टिका दृष्टान्तहरू जहाँतहीँ

त्यागेर सन्तुष्टि कतै अग्रसर हुन सिकाएको छ।।


यो ब्रह्म हो रूप बदलिरहनुपर्छ त्यागेर सारा 

गुमनाम रहेर पनि प्रहर हुन सिकाएको छ।।

के होला

तिम्रा हर रहरमा चलेपछि के होला ? 

रहूँ या नरहूँ आत्मा ढलेपछि के होला ?


एक जालन्धर, एक विष्णु कसको अर्थ? 

ज्ञानमा शून्य, दीपक जलेपछि के होला ?


अस्तित्त्व स्वीकारको प्रश्न जन्मिए पछि 

नभई वृक्ष फल, तिमी फलेपछि के होला ?


कसरी बनाउला महल उजाडेर बस्ती 

बदला त्याग्ने धरातल गलेपछि के होला ?


अमरत्वको आसमा विराज भई लासमा 

ज्ञात छ ? प्राणले कर्म छलेपछि के होला?

Wednesday, September 11, 2024

परीक्षा

त्यो शिशिर वसन्त झैं मानिरहन्छ ।

जब मनले आनन्द मानिरहन्छ ।।

मैले परीक्षा चुन्न कहाँ पाउँछु र 

परीक्षा मलाई आफन्त मानिरहन्छ ।।


ज्यूनु ! हरेक पल अमूल्य छ साथी 

अनन्त सम्झन्छौं यो अन्त मानिरहन्छ ।।


विचारको पाइला चाल्नु चनाखो भै 

काँडा हुन फूल, मन त मानिरहन्छ ।।


ईश्वर प्राप्तीको बाटो कर्तव्य बिछ्‌याउ 

मन्दिरै छ ईश्वर महन्त मानिरहन्छ ।।


कर्मफल आशा, न्याय, धर्म, चाहना 

त्यहि कर्म मार्छ मान्छे, सन्त मानिरहन्छ ।

Friday, September 6, 2024

चार लोककथा

 भेला पारेर बालहरू
अबोधगम्य भाकामा
प्राण प्रतिष्ठा हुन्छ
आफ्‌नो परिवेशका
अबोधगम्य शुक्ति
अवचेतन‌मा हालेर ज्ञान वा दृष्टान्त
सहज पालना हुन्छन्
नचलेर पक्ष विपक्षका बहस
पात्रहरू पूर्वजमा रूपान्तरित
स्व संस्कार
ज्ञात गराएर
साहस र त्रास मिश्रित
दृढ निश्चयी पार्न
तत्पर छन्
सुन्न र सुनाउन अनुकुलित कथाहरू।


पिध्ने करा नजानु
दृष्टान्त स्वजन‌को
अपहरित, बेखवर
स्वर्णमन्य दैत्य महलमा निवास
आदरपूर्वक फिर्ति सवारी थ्यो
दानमा आएको इच्छित बस्तु
महिनौं अज्ञात रहि
ज्ञात पश्चात कर्म
लय बनेको हो।


सम्साँझै दैलो कुर्ने
बाजे म के खाउँ ?
भोक बाट प्रताडित
सम्प्रभुतामा ज्यान गु‌माइ‌दिन्छ
पत्यार हुन्छ
गर्व हुन्छ वीर अस्तित्वको
विलय गरेर
प्रभुत्वबाट भयभित
आहारा खरानीमा विलय
लगाएपछि आगो शरिरमा
डाँडा वा खोला
विश्राम जरूरी हो।

ख्याल ठट्टामा

गाउँभरिको मल उठाएर

कोशौ टाढाको खेतमा लैजानु

रहर होता कि वाध्यता ?

हासोको पात्र नबन्न

चेतावनी बर्सिएको हो

सुनसान रात्री

अनेकौ उकाली ओराली

निला दहहरू

विहानै उठनेले खबर पायो

गाउँ बाट मल हरायो

ठूलो ढुङ्‌‌गो पनि हरायो

गाउँको पहिचान हरायो

स्थापना गरिदियो अन्त कतै ।



ठूला ठूला ढुङगाहरु

कसरी बद‌लिए होलान बाजामा

भागेपछि मलामीहरू

हराएपछि शब

पथ्थरमा परिणत भए‌को दमाह

उस्तै मानवाकृति

के अस्तित्त्वमै छन् ?


Thursday, August 22, 2024

धन्यबाद

 सापटी लिएर शब्दहरू पूरा

काव्य माला गुथ्ने भयो एक सुर

पहिराउँन आतुर भए दिव्य जनमा

बनाएर चित्र विचित्र यो मनमा ।।


दिएर प्राण जो जीवन धानीदिन्छ

प्रथम पूष्प कृतज्ञको उसैले लिन्छ ।

राखेर शिरमा हृद‌यमा सधैं

चढोस हरकुरा, चढाउँछु खुसी भै ।।



सहेर कष्ट थुपारेर खुसी

म कारण नबनु नहोउन ति दुखी ।

यो माटोको तिलक सधैं म लगाउँ

म बाँचु यसैमा यस‌कै गित गाउँ ।।


निलेर अश्रु साहस सधैं भर्ने

कठिन मार्ग नित्य पहिलो पाइला सर्ने ।

लिएर सबभार स्वन्त्र पारी

उचो स्थान छ दुःख सुखकी प्यारी ।।


पालुवा नै दिव्य उदाए असरी

ज्ञातै नभएमा हुर्किन्थ्यो कसरी ।

छोडेर छाया धुपमै बस्न चाह्‌यो

खुलेर भव्य जीवन यसले पायो।।


विशाल वृक्ष भन्छ कोपिला हुँ म

कृतघ्न बने यो स्वरूप रहन्न ।

साथमा आई यि हातहरू स‌माई

चल्यो काव्य यात्रा रमाई रमाई ।।


भरेर मामा हृदय भरि

सम्मान अर्पण छ सबैमा बेस्सरी ।

म यात्री एक हौसाउने अनेक

शिशिर सदा उचो बनों म सेवक ।।


जे भन्नु थियो कविता ल्यै बोलुन

चढाएँ थियो जे गुँढ रहस्य त्यै खोलून ।

एक झुल्को दृष्टि के होला र पूर्ण

सुझाव सिरोधार्य हुनेछन सम्पूर्ण ।।


पस्किए मनमा उब्जेको तरङ्ग

लिनुए रस इच्छाले छानेर उमंग ।

लेखेँ जे देखें बाह्य, अन्तरमनले

लिनुस स्वीकारेर बिद्यत जनले ।।


सह‌योगी हात अनेकों सम्झिएँ

आभार सबैमा खुसीले पस्किएँ

एक्लै प्रयासले बन्दैन कोही

साधुवाद सबैमा चढाएं यहि !!


आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...