Tuesday, June 10, 2025

पिर छ नि

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

सिस्टम नै गतिलो छैन, के लाग्थ्यो शिक्षकले भनेको ।।

 

बाह्र चौध उमेर पुगे बिहे गर्ने सोच्छन

S,M,C ले चिट चोराउने अनेक जुक्ति खोज्छन

परीक्षामा पुलिससँग घम्सा घम्सी सधैं

यस्ता स्कुल सुधार गर्ने साहस अझै ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

S,M,C गतिलो छैन, के लाग्थ्यो शिक्षकले भनेको ।।

 

दश कक्षामा पढाउनु A, B, C, D, E, F

स्कुल आउँछन जोडि बाँधी BF अनि GF

पढन तिर ध्यानै छैन जति गरे पनि

लौ प्रभु थाकि सक्यौं हामी भनी भनी ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

विध्यार्थी गतिलो छैनन, के लाग्थ्यो शिक्षकले भनेको ।।

 

कहिले तातो कहिले चिसो फेरी के के बिदा

विध्यार्थी के पढथे होला शिक्षक नै हिँडदिँदा

प्रा बि छन मा बि धान्ने त्यसमै उच्च पनि

के गरेर स्कुल बन्ने छक्कै पर्छु नि ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

सब शिक्षक गतिलो छैनन, के गर्थे विध्यार्थी भनेको ।।

 

कतै बस्ने ठाउँ मिल्दैन कतै कोठा खाली

कोही भैंसी चराउने कोही लगाउने बाली

बाह्र थरी शिक्षक राख्छन सबै मनोमानी

छिर्छन कक्षा आफू खुसी Subject छानी छानी ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

शिक्षक नै प्रयाप्त छैनन, के मान्थे विध्यार्थी भनेको ।।

 

नीति नियम बनाउने राजधानी हेरी

स्कुल आउँछन विध्यार्थी नि दिन बार फेरी फेरी

स्रोत साधन जस्का बढि थप्छन फरी उतै

योजना चाहिँ हुनुपर्ने सबका छुट्टा छुट्टै ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

योजना गतिलो छैनन्, के लाग्थ्यो शिक्षकले भनेको ।।

 

कहिले खेतमा ज्यावल बोकी कहिले वन तिर

स्कुल आए नी साधन हुन्नन कति लिनु पिर

पढन लेख्न के को आउनु ब्रेक लिँदा लिँदा

उनको कामै पूरा हुन्न सजिलो नि दिँदा ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

विध्यार्थी अर्कै काम गर्छन के बुझ्थे शिक्षकले पढाको ।।

 

मास्टर तिमले पढाएनौ भन्दै आउने गेटमा

नचाहिदा कुरा गर्ने हरेक पटक भेटमा

कुरा कल्यै बुझ्ने हैन आफै जिद्दी गर्ने

पढने माहोल बनाउदैनन् बच्चा क्या री पढने ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

Parents नै सचेत छैनन के बुझ्थे बिध्यार्थी पढाको ।।

 

कार्यकर्ता स्कुल छिर्छन पार्टी झण्डा बोकी

आफ्नै कुरा लादने गर्छन टेबल ठोकी ठोकी

जान्ने बुझ्ने मान्छे चाहिन्न तान्ने कार्यकर्ता

स्कूल क्या री बन्छन होला सबले यस्तो गर्दा ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

S,M,C अबरोध गर्छ, के लाग्छ शिक्षकले भनेको ।।

 

समुदाय बाहिरै बस्छ चासो आफ्नै काममा

ट्वाइलेट, धारो कागज भरि छैनन रियल ठाममा

झ्याल ढोका फोडि दिन्छन आफ्नो ठान्ने छैन

सधैं यस्तै भएपछि स्कुल बन्ने हैन ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

समाज नै सचेत छैन, के लाग्थ्यो शिक्षकले भनेको ।।

 

 

सबैजना सचेत भए हुन्थ्यो होला राम्रो

को ले गर्ला लेखाजोखा पसिनालाई हाम्रो

सबको इफोट मिल्यो भने राम्रो हुन्छ पक्कै

बनाउछौं भन्ने आसले म भएको ढुक्कै ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

सबैले साथ दियो भने बनाउँछौ हामीले भनेको ।।

Wednesday, April 9, 2025

भिड




मलाई हराउने मन लागे 

भिडमा हेलिन्छु 

स्व अस्तित्व मेटाएर 

भिड बन्छु 

यो स्वभाव हो 

जानाजान वा 

अनजानमा 

भिडमा उभिन आउँछु। 

अंश नभई बन्छु पूर्ण 

विर्सेर अस्तित्व सम्पूर्ण ।


रंगसंग खेल्नु आनन्द आउँछ 

जहाँ घोर पाप  गरे पनि 

अपराध गरे पनि 

म भागिदार ठान्दैन 

किन कि 

अस्तित्व मेटेर हुलिएको हु 

भिडमा !

त्यो भिड शक्ति हो भन्छ 

जसले दिन्छ अनेक रङ्ग 

पारेर परिवेश उद्‌ङ्‌ग 

के म स्वयम् हुन्छु मसँग ?


भिड, क्रोध, करुणा, जोश खुसी 

आदि इत्यादिको संगम लाग्छ 

सोहोरेर ल्याइदिन्छ भावहरू 

साच्चै बनाइदिन्छ परिचय

भन्छ - यो तिम्रै स्वरूप हो 

के म भिड हुँला त ?

जिज्ञासा




म हुँ बाट 

हुँ मा रुपान्तर भएर 

नाप्न स‌के उडान‌को दुरी 

कहाँ उभिन्थे होला ?


रुखमा म बिलाउँ

वा

रुख ममा विलाओस 

एक स्वरूपमा उभिन्थे कि ?


त्रिलोकको यात्रामा 

सारथीसंग एकाकार बनी 

तिनै विसौनी - जाग्रत स्वप्न र सुसुप्ति

कसरी छुट्टै उभिउँला ?


जे आउँछ त्यसैमा स‌माहित हुन 

प्रकृति हो त?

वा विज अङ्‌‌कुरणमा 

प्रकृति दोषी ?


कसरी विभेद गरौं

 हर स्थितीको एकत्व

 अनि कसरी उभिन्छु 

निजत्वमा ?



हूँ को अस्तित्वले 

ब्रहम बोक्छ हो ?

तर

 म हूँ बाट कसरी बनौं हूँ ?

Thursday, March 20, 2025

पाइला

झिलिमिली 

उज्यालोको लोभमा 

देशका नशामा बुर्कुसी मार्ने 

चट्‌‌याङको तेज नाघ्ने 

दिन को ज्ञान लुप्त पारेर 

ढकढकाएन प्रज्ञाको दैलो 

बरु आग्लो लगाएर 

पराइको आगनमा 

रमाउन पुगें 

दाइ भन -

के मैले प्रज्ञा चक्षु चिम्लेकै हो त ? 

या मेरो प्रज्ञाले खोल्न जानेन 

अर्धमुर्छित नयनहरू !


भनौला - हो 

म यो जवाफसँग साइनो गास्न सक्दैन 

किनकी 

स्वचेतनाको दियो निभाउने 

परिवेशले मल दियो 

चिम्लिन सिकायो नयनहरू 

जसले नदेखुन गरिवी 

ज्योतिमुनिको अध्यारो नदेखुन 

रोग नदेखुन - अशिक्षा नदेखुन 

पिडा अहो! 

बेदना नदेखुन 

त्यही उपचारको खातिर 

चालेका पाइलाहरू हुन 

भन्नुस कसरी रोकौं।

Monday, February 17, 2025

आधार

 मेरो ज्यूने मर्ने साहारा तिमी हौ  ।

यो पूर्ण जीवनको आधार तिमि हौ ।।


बगे पनि किनार किनार हुँदै 

डो‌र्याउने मियो मझधार तिमि हौ ।।


उडौं न हलुंगो बादलको माथि 

फुल्ने जीवन‌को बहार तिमी हौ।।


जहाँ पुगें पनि फिक्का लाग्ने मात्र 

सधैं आफ्नो लाग्ने संसार तिमी हौ।।

Saturday, January 25, 2025

बिद्रोह



मार्क्सका ठेली मुन्तिर 

इमाइल दुर्खिम अनि 

इ. वि. टाइलरको 

संरचनामा 

नअटेपछि मेरो परिवेश 

कसरी अटौंला र म 

महोदय ? 


ॐ मणि पद्मे हुँ -  शिरमा गुँथेर

भोटो, गुन्यू, चोलीमा सुसेली हालेर 

कमिज र लुँगीमा पसिनाको सुगन्धले

भकारी भर्ने परिदृश्य 

थान्को लगाइदिएर कुनामा 

एकरूपताको नारा दिएर 

कुर्लिने आधुनिकता ! 

जगविहिन उभिन हतारिने 

मारूनी र रोधीलाई छुट्याइदिने 

मुर्चुङ्गा र ढोलक मिल्काएर 

डाँडा पाखा रन्किने भाकाहरु - आहा ! 

थमाइदिएर अर्कैको हात 

नापेर भुगोल 

भित्तामा कोरेर 

पराधिनताको नक्सा 

जहाँको हरेक चिजले गिज्याइ रहन्छ 

र भन्छ 

म तिम्रो भइसकेँ , 

वा तिमी मेरो भइसक्यौ 

मोहित भएछौ वा बनेछौ 

एकै भावमा सम्हालेर 

शिरमा बसेर रजाइँ गरुँ 

घाटीमा झुण्डिएर बाटो डोर्याउँ 

वा नसा नसामा बगेर 

सिध्याउँ तिम्रो स्वाधिनता 

के हार स्वीकार गरौं त महोदय ? 


अहँ 

हुदैन

मलाई स्वीकार्य छैन 

म मौन सहमतिको विरुद्ध

हमला बोल्छु 

पुर्खाको योगदान भुल्ने 

म कृतध्न भएको छैन  ।

मुण्डन गरिदिन्छु शिर 

धारेर स्व बस्त्र 

कन्दमूलको शिकार गरेर 

मलाई सुहाउने

आफ्नै पौरखमा रमाउन 

र 

भत्काउन यो कुटिल परिवेश

उजाडिएका सम्पदा 

दर्ता चल्ने देवको बसाइँसराइँ 

मास्न खोजेको इतिहास 

आलाप गरिरहेको परिवहन 

जहाँ 

भोको र र्याल काढिरहेको 

नुतन भेष छ 

भन्छ 

मलाई स्वीकार 

महोदय 

मलाई स्वीकार छैन 

स्वार्थको आहाल बसेको 

आँधिले उडाउने 

सम्मोहनको जग । 


खोजी थालौं 

स्वाधिनताको मुहान 

औपचारिकता भन्दा वास्तविकता 

प्वाल नपरेका सार्वभौम भित्ता

ताजा इतिहासको गर्व 

सम्मान गर्न सकुँ आफूलाई 

आफै बनाएर रम्न सकुँ ! 


महोदय भन्नुहोस 

कसरी अटाउन सक्छु म 

जहाँ 

पराधिनताको सुगन्ध चल्छ 

सर्ब हिनताको प्रबन्ध छ 

लुटने लुटाउनेकै सम्बन्ध छ 

ज्यूँदो लासको आनन्द 

त्यो परिवेशमा म अटाउदैन 

भन्नुहोस 

के म अटाउँ त ?  

 

Friday, November 29, 2024

बा! कान खोल

आफ्नै गरिबीले हो 

हामी झन झन गरिब गए‌को । 

अब भत्काउनु पर्छ गरिबीका पर्खाल 

चढ्नु पर्छ उन्नतीका शिखर 

एक अभाव छ बा 

 ल्यापटपको !


लैनो भैंसी बेच बा 

वा घाटकुलो लाग्ने खेत

नभए घरबारी बेचेर भएपनि 

किन्नु प‌र्यो नयाँ ल्यापटप 

त्यस‌पदि चढुला किर्तिपुरको डाँडोमा 

दिनमै छापौला नोटका बिटा 

फिर्ता ल्याउला घरबारी 

बनाउँला आलिसान महल

अनि फिर्ता बोलाउँला बन्धुहरु 

स्व बन्धक बनेर 

रोजगारको खोजमा हराएका 

कयौं देशहरूमा !


बा! आँट त गर 

किनिदेउ ल्यापटप 

बेरोजगार छोरो बेहोर्न सक्छौ? 

 गुम्नेछ  हाम्रो अंश  

मलाई अत्यास लागि सक्यो 

कुन कुनामा परिने हो  

सवाल अस्तित्वको छ 

बा! कान त खोल ! 

कुरा त सुन!

लाखको डाँडो


दाइ!

यो किर्तिपुर कहाँ पर्छ ? 

बेरोजगार भएर कयौं बर्ष बसेँ

हातमुख जोर्न मुग्लान पसेँ

मलाई पनि खाँचो छ केहि लाखको 

न्यानो पाउन मन छ आफन्ती काखको !


एक टुक्रो जमिन किन्थे 

एक सानो झुपडि बनाउथें 

टाल्थें होला आमाको फरिया 

फेर्न मन छ बाको दौरा 

न्यानो कपडा चाहिएको छ 

दुधे बालक र उस‌को आमालाई !


भाइ ! 

तिमी राजधानी पसेर हरायौं 

कतै किर्तिपुरको सुख सयलमा त छैनौ ?

 कि खोज्दै हो तिमी पनि 

कहाँ पर्छ किर्तिपुर भनेर !

ज्ञान किनेर अज्ञानी बनेर !


ए! काका

 उठ अब ! 

अबेर भैसक्यो 

सकिन सक्छ रोजगारी 

हात हातै बाँड्‌दैछ रे लाखका बिटा

लैजाउँ चाहिने जति 

बनाउदैछन्, बन्दैछन् सबैलाई ।


म पत्याउछु बा 

तिमी पनि पत्याउ 

भाइलाई भन 

काकालाई सम्झाउ

हामी सबै पत्याउँ 

नपत्याउनेले पत्याउने कुरा ग‌र्यो 

नेपाल हो 

बिकिरहन्छन् बकम्फुसे कुरा 

यहाँका भट्टीमा नेता उदाउछन् 

हामी हात जोडिरहन्छौं ।

देश छ 

राजधानी पनि छ 

डाँडाहरू पनि छन 

लाखौ मिल्ने किर्तिपुर छ 

तर परिपाटी छैन 

योजनाकार छैन 

कार्यान्वयन कर्ता छैन 

 छ 

पत्याउने जमात 

बकम्फुसे कुरा गर्ने नेता 

एक देश 

एक डाँडो ।

Tuesday, November 5, 2024

काला पहाड





बा !

तिम्रा पसिनाको रेखामा 

ढोग चढाएर पाइला चाल्दा 

न्यानो हात कुल्चेको अनु‌भूति 

द्रवीभूत बनायो ।


भित्ताको माथिल्लो ओठ‌मा 

गैंची र साभेलका खत देख्दा 

झर्दै गरेका दाँत सम्झिएँ  

मकै भटमास चपाएर 

भत्काएका थियौ ढुङ्ग्यान भित्ताहरू ?


फनफनी चढ्दा उकालो 

सिरीमिरी बाटने कपाल सम्झ्यौ बा ? 

तिमीले  सिकाउथ्यौ 

आमा नहुँदा 

बहिनीको कपालको बाटो बनाउन ।


उक्लदै घुम्ती 

चिसाे भएर ओर्लदा 

धामीबाको लट्टा झै‌ं !

धामीबाले पनि साभेल चलाए कि ?

आफ्नो शिखा जस्तै  बाटो बनाउन ।


लोटाको पानी जस्तो ताल 

होस फर्काउन लट्टा चोवेर छर्किने 

ख्याल छ नी ! 

झस्काउन एकसाथ उभ्याइएका छन् 

मन्दिर, मस्जिद, गिर्जाघर र गुरुद्वारा ।


जल्को मन्साउने चिसो पानी 

तालले ताजा तुल्यायो

स्वेदशमै भित्ता कोतर्न सक्थ्यौ नि बा 

हामी गर्न सक्थ्यौं सयर 

पहाड - बण्डाल - मधेस

रोकियौं युगौं युग।


थाह छ किन ? 

त्यो बेल्चा, गैंचीले जग बसाउथेन !

तिम्रा पसिनाले समृ‌द्धि उमार्थेन !

यहाँ चाहिन्थ्यो दिनहुँ बग्ने संयन्त्र !

त्यो बन्ने थिएन 

जसरी बचेको छ कालापहाड।

Sunday, November 3, 2024

को दोषी हो ?


 

म दोषी या मेरो नजर दोषी हो ?

जवानी हो या त रहर दोषी हो ?


म अन्जान, भो म मात्र हैन होला !

दुइटै वैस‌को त्यो बहर दोषी हो।।


एकान्तता अनि छामछुम पन !

कोठा हो या तिम्रो त्यो घर दोषी हो।


ना रौनकता, न विशेष राम थ्यो ।

उशा ! विहानीको प्रहर दोषी हो।


कुतकुत्यायो भित्रैबाट दुबै जीउ -

जंगल हो, या कुनै बगर दोषी हो।

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...