एक दिन काइँला दाइको चिठि आयो
कपडामा चिचिलो च्यापेर
एकाबिहानै आइपुगिन काँइली बौजु
आमाले ब्युझाएपछि
लओ गोसि यो पढ्ढाइनौक्या
आमा पानी डोकोमा हुल्न लाग्दा
मैले बाचन गरेथेँ
काइँलाको चिठि
काइँलीका लागि
बिना ज्यालामा ।
जतन गरेइ बालबच्चाको घर नगरेई बाँजो
खर्चपानी पुग्याइहोला क्यै नमानेई खाँचो ।
मुसुक्क मुस्काएर बाटो लागिन ।
एक दिन छकाल्यै किन हो त
आमाको डाकोले म ब्युझिए
दोस्रो पात्र काइँली बौजु
बजार को आउन्याहो
गोसी नुन ल्याईदिया
भारु २० हातमा राखेर बाटो लागिन ।
एकदिन आमाको इन्कारले बाटोमा बार लागेन
ठूलो छैनइ
गाडका छालै छाल जाएइ
मैले अनुसरण गरे
अगाडि लागेकाको
जता उनले टेके त्यतै टेकेर
ठूलो भिँडमा बिलाएँ ।
कोहि माइकमा बोल्दै थियो
एकाएक बन्दुक उठ्यो
सबै भागाभाग भए ।
काइँली बौजुको याद
तार पुगेर
मास्टरसँग
१ किलो नुन
चोटकामा गाँठो पारी
छालै छाल पाइला नाप्दा
सम्साँझ भयो
गोसि माठा अरेउ
१ किलो नुन हेर्दै
फिर्ता छ कि प्रश्नले
नभनेरै आँखामा
आँसुका बाफिला धर्का कोरेर
केटाकेटी हो हरयो कि खायो
आमाले हो भनेको ।
काखको चिचिलो
एक गोठ गाईवस्तु
एक मइडो बालख
खान्कि बोकेर
काइँली बौजु बजार पुगिनन
थैलीमा आँसु बगाइन ।
मैले गाडको पानी सम्झेँ ।
अहिले मेरो पसिनामा
अरुनै खेल्छ ।
म आँसु बगाउछु
काइँली बौजु
म तमि जसै भइगयाँ ।।
No comments:
Post a Comment