Sunday, February 22, 2026

समयको साक्षी

 


-     


प्रिय पिपल!

उष्णमा भरेर शीतल

उम्रेका अनेकौं कहानीहरु

तिमी पनि साक्षी हौ-

कि प्रश्न थुन्ने कारखाना !

वा वाचित ऋचामा उभिन्छौ ?

 

हजुरबाको ठेकान

बाहरूको रौनक-

दाइह‌रुको कथा

भाइहरुको चुटकिला

तिमी मौन छौ !

बिलाएर सम्पूर्ण कथा

बिलाए झैं भ्रुणहरु

पुत्र दर्शनमा !

 

अदम्य शाहस आएन होला!

प्रेतात्मा मानवमा पदापर्ण हुँदा

के तिम्रो लहरा रक्षक भएर उभियो

राँके जुलुसका राक्षसहरुसँग !

किचकन्नीका बथानहरुको

हाँसोमा रुम‌ल्लियौ कि -

युवाको यौवनसँग

यौनका कहानीसँग!

 

तिमीले मृत्यु पनि भोग्यौ

जस्तो भन्छन - मृत्यु नियालेँ

नजिकैबाट !

तिम्रो आँगनमा आउने मुर्दाहरु

चेतनाहीन छाया

कसले सिकाए मृत्युको मर्म

जीउँदाहरूले कि मुर्दाहरूले ?

 

बालक्रीडा पनि भोग्यौ

स्वयम्‌मा जीवन उमार्यौ

वयस्कहरू पनि फनफनी घुमे वरिपरि

जो बालकै थिए !

अस्ताए - डाँडाको बेलसरी

झुल्किए तिम्रै आँगनमा

के तिमी संवेद‌नाले काम गर्छौ ?

 

जरामा धूपबत्ती बले

हाँगामा जीसस झुण्डिन आए

लाटोकोसेरोले ध्यान गरे

चिबेले काग लखेटे

चिलले परेवा चिरे

तप ! तप ! तप ! तप !

तिम्रो आँगनमा रगत तप्कियो

भन - तिमी दुःखमा छट्पटायौ ?

 

अँ -

तिमी त साक्षी पनि बस्यौ

यो परिवेशको !

त्यो समयको !

बद‌लिदो युगको !

तिम्रो आयुको !

हाम्रो सत्कर्म - कुकर्मको !

भन कसरी हेर्छौ यो समय-

समय त्रस्त भएको मौस‌म

ति चिसा रातहरू !

 

तिम्रै आँगन भएर गए होलान बामनी बज्यै -

खोज्दै हिडेका बाजेहरु !

मुण्डन गरिएका नातिहरु !

छाप्री समातेका पनातिहरु !

सगौरव हिडने सन्ततिहरु !

फर्फराए होलान्

प्रथाका ध्वजापताकाहरु !

पिडाका पर्वतहरू

अपमानका भिरहरू

आरोपका बृक्षहरू

के मात्र देखेनौ –

सर्वाङ्‌ग नाङ्‌गाहरु !

हर ठाउमा ठडिने बाङ्‌गाहरु

गङ्‌गाहरू- देवव्रतहरू !

भोक – शोक - परलोक

कतिसम्म लुकाउछौ ?

 

बामनी बज्यैको बाटो यहि छ

पुण्य वा श्रापित माटो यहि छ

दुःख छ पिडाको पाटो यहि छ

यहि बाटो हिडने बज्यैहरूको चित्कार -

रगतको टाटो पनि यहि छ -

तिम्रै माथिबाट उठ्‌योहोला

दुर्गन्धको धुवाँ

तिम्रो जरास‌म्मै पुग्यो होला अश्रु रस

तिमी मौन भयौ - को बताउँछ अब !

 

बागनी बज्यैको चित्कार सुनेको

पटपटी फुटेको शरिर देखेको

तिमी सँगै त हो बाज्याले उत्तर खोजेको

तिमीमा ध्यानस्थ भएको

तिम्रै आँगन‌मा चित्कार छोडेको

बास्नादार भोजन अर्पण गरेको

तिम्रै समिपमा घण्टीको करतल ध्वनी

किन जागेनौ शङ्खनाद‌मा

कि विरह‌को सनाही बजिरहन्छ

भित्र – भित्र ! भित्री गहिराइमा !

कति लुकाउछौ - केहि त देखाउ !

तिमी इतिहास हौ - वर्तमान हौ

 

बाजेको तन्त्र

तिम्रो मौन मन्त्र

बामनी बज्यैको चित्कार

प्रथामा परिबन्ध

म के महसुस गरुँ –

तिमी भएरै

नामेट अस्तित्व !

Saturday, February 21, 2026

शक्ति र शास्त्रको मौनता

 



खस साम्राज्यको प्रकाश - 

पहाडको छायाँ र तराईको श्वास 

गाउँको माझमा एक थान खास 

धूपको धुवाँ र दमाहको आवाज 

कम्पायमान भइरहेको छ आकाश ! 

 

मन्दिर अगाडि ढुङ्गामा, 

हजुरबाको काखमा सानो नाति, 

डरको छाया, 

पुरानो व्यथा - कथा

एकैसाथ उभियो फरक नयनमा । 

 

 हजुरबा !

“किन बलि लिन्छिन बामनी बज्यै? 

किन दमाह बज्छ, किन रगत बग्छ?” 

किन लगाइन्छ ठूलो भाग

कसले खान्छ –

पुजारी बा

वा बामनी बज्यै !

हजुरबाको गहिरो स्वाससँग 

नामेट इतिहासको गह्रुङ्गो भारी

कसले बोक्छ अब ! 

 

सुन बा -

एक कथामा

अवतरित भएको धमिलो छाया

भौतिक वा अभौतिकको माया

शस्त्र र शास्त्रको कुस्ती

पिसिएको अवला

कसरी बुझ्छौ

यो बलि

वंशको अभिशाप भनेर !

 

बलवान समय हो - 

शक्ति सम्पन्न सेनापति, 

शस्त्र बलमा गर्व गर्ने - 

शास्त्र सम्पन्न पण्डित, 

तन्त्र! मन्त्र! यन्त्र!

स्वनियन्त्रण

ज्ञानको गौरव - नयनमा  

अग्नी र पानी एकैसाथ उभ्याउने !

 

दुबै भिडे । 

शक्ति! बन्यो - तरबार संसार हो 

शास्त्र ! भन्यो ज्ञानमा संसार उभियो -

टकरावको बिचमा 

अन्जान असाहाय्य

बामनी बज्यै

अर्जापेको हतियार

असाहाय्यबाटै

बज्रिएपछि उनी उपर

रगतको खोला बग्यो !

अहो ! यो बलि के हो र !

 

रगतसँगै श्राप उदायो   

शक्ति सम्पन्नको वंशनाश -

शास्त्र सम्पन्नको ज्ञान निष्काम

गाउँले आहान बनायो

“निर्दोषको रगतमा, 

शक्ति र शास्त्र निष्काम भयो।” 

 

गाउँ अभिशप्त भयो 

फसल फूलमा बदलियो

महामारी महत्वहिनता

शृङ्गार 

डरमा जीवन भिमकाय बन्यो !

 

“पाप धोइदिन बलि चढ्यो होला” 

जसको आवाज छैन -

बलि पापको सम्झना भयो कि बिर्सना ! 

दमाह बज्यो, धूप बल्यो, 

हात जोडेर प्रार्थना भयो

पश्चाताप हो कि बिलौना -

प्रार्थनाभित्र डर मिसियो

बनाए कि प्रथा-

म कसरी बताउँ !

तैँले के बुझ्लास !

देउ देउताले नबुझेको

शक्तिको कथा । 

 

बालसुलभ प्रश्न काँपेर

जवाफ नाजवाफ –

ओइरिएपछि,

“बलिले पाप धुदैन भने 

किन भइरहन्छ पुनरावृत ?” 

 

हजुरबाको मौनतामा

उत्तर फेला परेन   

आँखा आँसुले डम्म भए !

कुनै यस्तै डम्ममा

बामनी बज्यै बिलाइन कि ?

“बाबु, सत्य स्वीकार्य छैन   

डर हाम्रो जीवन हो -

यसमा हामी बाँच्छौं !” 

 

“याद राख -   

शक्ति र शास्त्र दुवै फेल हुन्छन् 

निर्दोषको रगतमा

दोहोरिए पनि घटना

अनेकानेक रुपमा ।” 

 

हाम्रो कमजोरीको लुकाउन

प्रतीक बनाउने रिति 

तोडन सक्छौ ?   

सत्य स्वीकारेर !

बामनी बज्यै -

उनको पीडा -   

होला अभिषापको अन्त्य ! 

 

धुपको सुगन्ध

दमाहको क्रन्दन

चिसो थानको ढुङ्गा

मनमा 

नयाँ आगो बलिरह्यो   

सत्यको आगो

पिडाको आगो  

अभिशाप तोड्ने आगो

बाँकी छ सारा

कुन आगोले मुर्त रुप लिन्छ । 

 

 

 

Thursday, February 19, 2026

यात्रा र छाया

 


बाटोमा रुमल्लिए‌को भए 

मूलबाटो देखाउन हुन्थ्यो 

यात्रा आरम्भमा अल्झिए 

पैतला टेकाउन हुन्थ्यो।


पैतला र यात्राको तादम्यता 

आत्मिक उर्जामा तुसारो परे 

न ज्ञात- लेखाजोखा कसले गरे 

को हेर्ने ? पछाडि कि अगाडि सरे !


बोकेर आधाबाटोसम्म पुगाए पनि 

टक्क रोकिनु ! अँध्यारो होउन्जेल -

फर्किन नसक्नु, बढ्न नखोज्नु 

बाटोको भेद समेत नपाउनु !


उसले बताउदै छ - तिमी हिँड 

यो मूलबाटो हो 

यहिबाट यात्रा थालेर 

गन्तव्यमा पुग्ने मार्ग 

पहिल्याएका छन् ।


थालनी स्वयम‌् गर्नु  -

कयौं भेटिन्छन् यात्रामा 

संगैका कयौं छुट्‌छन् 

कयौंका पैतला पछाडि फर्किन्छन् 

तिमी गन्तव्य हेर ।


अहँ -

बाटो बाटो जस्तो लाग्दैन 

यात्रा यात्रा जस्तो छैन 

अस्पष्ट उद्देश्य 

भन्छौ - को हिँडेको छ ?


म आउँला तिम्रा चुनौतीमा 

पन्छ्याउँला अवरोध 

पुरिदिउँला बाटोका खाल्डा 

थकानमा हौस्याउँला 

निरसमा कविता सुनाउँला 

अब त हिँड ए! अबेला भयो !


प्यासमा पानी बनौंला 

भोकमा भोजन बनौंला 

तिमीमा अवतरित हौंला 

हर मुस्किलमा पदार्पण हुदै 

तिम्रो यात्राको छायाँ बनेर 

संग संगै हुनेछु-यात्रा तय गर!


थकान ! नथाकेरै भएपछि 

गन्तव्य कहिल्यै नभएपछि 

हुलको अस्तित्त्व रहेपछि 

क्षणभङ्‌गुर जय जय पछि 

विलापमा रम्नुनै छ एक युग 

छाया साथ छोडि गएपछि !

Monday, February 16, 2026

गजल

समिपै रहेर त्यो स्पन्दन सुन्न मन छ।

के भन्छ  मेरो प्रिय मन सुन्न मन छ।


नयनमा सागर हुलेर तस्विर दिने

प्रेमको अनुपम वर्णन सुन्न मन छ । 


तिमी नाप्नु तौल गर्नु क्षेत्र तोक्नु खुलेरै

भयो प्रणयको आयतन सुन्न मन छ ।


ताराको उज्यालोमा जूनसँग लुकामारी

अद्भूत हो मोहित गगन सुन्न मन छ ।


स्वासको अन्तिम रागबाट निस्केने धुन 

मेरो प्रिया प्रेमिल वचन सुन्न मन छ ।


द्वैत रुप समिश्रण अद्वैत बने पछि 

अस्तित्व दम्भको समर्पण सुन्न मन छ ।

मुक्तक

 

मेरो ईश्वर मेरै दुःख हटाउने हो त

तिम्रो ईश्वर मेरो लागि के कामको भो त

आफ्नो घरमा ईश्वर पाल्नु के सम्भव होला

अब भन यो संसारलाई चलाउने को त ?

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...