Tuesday, August 20, 2024

सटरमा छु

 बा 

महंगो सिताब‌को भारी किनेर

महंगो कपडाको टाईले सिंचन गर्दै

खनखनी गनेर नगद

चढाएपछि खाता बहिमा नाम

छोराले थालेको हो आमाको भाषा बिर्सिन

बाआमा बिर्सिन

फूल बिर्सिन

फूल चढ्ने देउराली बिर्सिन

स्वयम् बिर्सिन


अनयासै एक छत्र सम्झनामा तैरिदा

न्याम्रो मेटन

फलको गुणस्तर खोज्न

बा तयार भएको छ-डिएटरी सकाएर

छोरो तयार र कालसंग वेप्रवाह

एक स्वास

कुरा खोकिन्छ

छोरो भन्छ- सटरमा छु बा।


नमिल्ने समयसँग जुध्दै जुध्दै

बाले संघर्ष गरिरहे

छोराको खबर सुन्न आतुर

भन्छ बा म सटरमा छु।


बा म सटरमा छु।

मेरो अगाडि ठूलो र चौडा सडक छ

सडकमा गुडिरहन्छन अनगन्ति गाडिहरू

ठूला ठूला ट्रकहरु

स-साना कारहरू

हुइकिरहन्छन् मोटरसाइकिलहरु

चलिरहन्छन् रिक्साहरू

बजाउदै आ-आफ्ना संगित

गिज्याइरहन्छन हामीलाई

आवाजले त्रस्त भएर

सुन्न एकिदैन गुरु, गुरुआमाले के चढाउनु भयो ।

केहि भाग चुकेको हुन्छ गृहकार्यका

केहि भाग कक्षा कार्यका

गाडिको कोलाहलमा

म सटरमा छु बा।


सटर सांघुरो छ

एकापट्टी स‌मान मिलाउने र्याक छ

अर्कोपदी काठ तम्तयार छ र्याकका लागि

बिचमै बस्निछौं हामी

बा के हामी पनि वस्तु बन्न लागेका हौं ?

एक र्याकभरि कपडा पट्याएर राखिर झैं

हामी बीस जना खौदिरहन्छौं सटरभित्र

कोहि बेला मौका मात्र छिर्छन्

हामी पालो दिन्छौं - दिन बार बिराएर ।


मलाई सटरमा बस्न साथै अप्‌ठ्‌यारो लाग्छ

कुनै दिन शिक्षकरू आधा बन्द राख्छन सटर

हामी स्वास फेर्न गारो मान्छौं

यो देशमा जस्तै

उकुस मुकुस हुन्छ

पसिना बग्छ खलखली

अनि चिसिन्छौ-चिसो बरफ जस्तै

यस्तो गर्मिठाउँमा हामी खाँदिएका छौं

न झ्याल छ बा

न ढोका छ

मात्र सटर छ

यो सटरमा म छु

मेरा सामीहरू छन

चार थान बेन्च

एक थान शिक्षक

र हाम्रा थानका थान सपनाहरु ।


शिक्षक सटर बाहिर निस्कनु हुन्छ

ग्राह‌क‌लाई बोलाउनु पनि छ

बेच्नु पनि छ उत्पादन।

गुणस्तर चिन्ह राख्नु छ

कमशल समानमा पनि लगाउनु छ ट्‌याग

बाहिरबाटै बोल्नु पर्छ

आधा हामी सुन्छौं

आधा हावाले गाडिमा लैजान्छ ।


बा म यस्तो ठाउँमा छु।

हजुर अप्ठ्‌यारो मान्नु‌होला सायद

म त हजुरले नगद तिरेको स्कुल पढ्छु

म त्यहीं छु जहाँ हजुरले चिसो तापेर

सुनौलो लोगो मा पैसा खन्याउनु भयो

अहिले पनि कयौं बा आमा यहिँ आउनुहुन्छ

खन्याएर पासिना

थुनिदिनुहुन्छ छोरा छोरीलाई यि सटरहरूमा ।


हामी विद्रोह गर्न सक्दैनौ

बाका विरुद्ध‌मा

सहन्छौ ज्यादति हर दिन

अपनत्व ग्रहण गरि

सायद निरन्तर पोसिएर

चिठी थमाउदा रित्तो छाउँ हेर्छु

सुन्छ साथीलाई - प्राण गर्छु

मैले चुकाउनु छ मूल्य जसरी पनि ।


आमाका आँखामा छचल्किने आँशु

रोक्न सक्दैन मेरो साटरको बास

जम्मा गरिराख्नु भएको छ जम्मै

कुन महिना मैले के-के लगेर आमालाई दिए।

बा तपाईले मलाई भर्ना गरेको सटरमै हो

सटरमै भर्ना गर्छ, सटरमै उस‌ले पढाउछ

सटरमै कार्यालय चल्छ

सटरमै परीक्षा लिन्छ

सटरमै मूल्याङ्कन गर्छ

सटरमै नतिजा देखाउछ

सटरमै विद्यार्थी उतिर्ण हुन्छ सबै

सटर परिवर्तन गर्छन

जस्तै

हिजो पल्लो कोठामा थियौं

आज अर्को

बदलिरहन्छन सटरहरु

एक सटरमा म बसेको छु।


मलाई सटरमा किन बस्नु प‌र्यो बा!

खबर छैन


मैले केहि बोले पछि, चुप लाग्ने आदेश

पालन नभए

आउछन पालै पालो मिसहरू

भन्छन अफिसमा पठाइदिउ ?

अफिस पनि सटरमै छ

बा, म जहाँ गएपनि सटरमै हुन्छ

म चुप बस्छु

मेरो साथी चुप बस्छन

वरीपरिका साथीभाइ चुप लाग्छन

अनि ठूला दिदी दाइहरू चुप लाग्छन

हामी चुप बस्हौ

हामी सटरमा छौं

हामी सटरमै चुप लागेर बस्छौं

बा के यो देश सटर हो ?













कित्ता काट

साथी - खुसी बाँड्नु छ
अनेकों समस्यामा साथ उभिन सक्छन
तर घेरा कत्रो छ?

कुन घेरामा नजर लगाउनु

खोलेर आँखाका कुनाकन्तराहरू

वा बन्द गरेर मूलद्वार

वा बन्द गरेर मलद्वार

उड्‌‌यायन र आलन्दर

कुन आँखा चम्किएलान

र उभ्याइ देलान कित्ता कित्तामा साथीहरू।


कर्मले बोक्ने अवयव

प्रशंशाका पात्रहरू

पवित्र हृदय भरिएका

वा खाली हृद‌य बोकेर

भरिन आइपुगेका

कस‌लाई कुन कित्तामा राखौं ?

यो दोधारबाट कसले बगाइदेला मूलधारमा !


मूलधारको बाटो त शत्रुले छेख्छ

कहाँ कहाँ खोजौं

हर पाइला पाइलामा शत्रु बास गर्छन

हतियारमा थाप्छन्

ढाल बनाउछन्

प्रहार गर्न तम्स्याउछन्

आफ्नै बललाई आफ्नै विवशताले !


ठूलो शक्ति
ठूलो मित्रमा रूपान्तर गर्नु छ
तर
त्यो ठूलो शत्रु भएर बस्न खोज्छ
के यो संसार
शक्ति कमजोरीमा बदल्न तल्लिन छ ?
नाग बनाएर ?
विष सेवन गराएर ?

बास

अग्ला अग्ला महलहरूले

निलेको


एउटा


झुपडी छ


त्यस‌भित्र


भोकले


व्याप्त सम्राज्य फैलाएको छ ।


बाहिर


असमान खाडलहरू छन


ए महलहरू !


निलिदेउन


असमानता !


अज्ञानता !


भोकमरी !


रोग ! - इत्यादि


पुरिदेउन


महता बनाउदाका गहिरा खाडलहरू ।


Saturday, August 17, 2024

छात्रबास

बाआमाको सहमतिमा
 नाईनास्ती गरेन छोराले
बुझ्यो घरमा कोहि नभएको
बा आमाको कामको चाप
अध्यायन‌मा पर्न सक्ने प्रभाव
नेप्से जस्तै अंकगणित
बनेर इमान्दार छोरा
तयार भएको हो मुटुमा गाँठो पारेर
भरेर गह‌भरि आँशु
कोचेको थियो झोलामा आवश्यक र प्रिय वस्तु
चिम्म पारेका आँखा खोल्दा
पाए‌को थियो आफूलाई एक छात्रावास‌मा ।

दशक पूरा भएपनि फर्किन नपाए‌पछि
मरेकाहुन फर्किने चाहना
स्वीकारेको हो त्यो परिवेश
यसैलाई आधार बनाएर ज्यूनुछ।
प्रवेश गरेर संसारमा
भित्र्याएपछि दुलही
फिरेको हो बर्षमा एक पटक मात्र
उसले घर बनायो
परिवार ब‌नायो
आमाले संसार छोडिन
बा बुढो हुन थाले
भन्यो- हामीलाई समय हुदैन बा ।

एक्लै विरक्त लाग्ला
हजुरलाई साथी
औषधोपचार सबै गर्ने
भेटेको छु - एउटा छात्रवास
मलाई अनुभव पनि छ
हजुरले अनुभव गर्नुहोस ।
हालेर बाको समान गाडिमा
हुइँकिए वृद्धाश्रम
मिल्लाएर प्रबन्ध
फर्किनै लाग्दा बाले गहभरी आँशु भेलापारे
छोरो तसँग बस्न नपाएरै
परलोल भएकी तिम्रो आमा
उसको तस्बिर ल्याइदिनु ।

आउ ध्यान खेलौ






कोहि आँखा नचिम्लिएर आँखा चिम्लिनु 

कैद गर्नु क्यामेराका दिलहरूमा, 

दिमागहरूमा  

र्याम्पमा हिँडाउनु साधकहरू 

पुष्प वृष्टि गर्नु आशनमा 

जयजयकार गुञ्जियोस

थाह पाओस लोकले 

उच्चारित होओस प्रणव ध्वनी  

गुन्जियोस र व्याप्त बनोस 

ओइरिउन दर्शकहरू 

भनुन अहो खेल  

आउ हामी पनि खेलौं

एउटा ध्यान खेलौ ।


लागुन ठूलाठू‌ला व्यानर बजारमा 

होर्डिङ बोडमा मुस्कुराउन आकृति 

विकास गराइ‌योस विद्वताको 

सिप, ज्ञान, अभिवृत्ति, व्यवहारमा

 मात्र नविकुन पत्रका चाङ

विदूताको टाँचा लगाउदै 

देखाउन पाइयोस उदाहरण

हाम्रा चौकोशहरूमा पनि 

अभ्यास भइरहन्छ

खेली रहन्छौ हामी

ध्यानका खेल 

आउ अब हामी ध्यान खेलौ ।


तिमिले ध्यान खेलेर के पाउँछौ 

प्रमाणपत्र हामी छापिदिन्छौ 

सरकारसंगको आग्रह  

हामी प्रमाणपत्रका पसन थापेर बसेका हौ

हाम्रो रोजिरोटी चलाइदेउ

बरु तिमिलाई कति गह्रुँगो पारौं

वा तैरिन सक्ने मात्र 

कि भरौं अखबारका पन्ना पन्ना 

पुष्प गुच्छा लिएर त्यहि लाम नलागोस 

बरु बाटो देखाइदेउ भनोस 

सकभर सँगै खेलौ हामी 

नभए

आउ धित मरुन्जेल खेल 

ध्यानका खेलहरु । 

बनेर आउ आवरण निपूर्ण 

नैतिक कथामा पनि उदाउनु

अनुकरणको खेलमा ! 

सधै जित्नु - सत्य कहलिएर । 

तिमी आउ 

म आउँछु

उस‌लाई बोलाउँ 

खेलौं ध्यान हामी पनि 

आउ अब त ध्यान खेलौ ।


Friday, August 16, 2024

कान्छी

 कान्छी ! 

तिम्रो भट्टीमा 

म बेचिन सम्भव छैन 

तिमी सोच्छौ,

म सोच्छु, 

तर उनीहरु यथार्थ जान्दछन - 

तिमी जोगिनु पनि सम्भव छैन 

मूल्य तोकेर बसेपछि

मोल चुकाउनेले धर्म सम्झेलान ? 


विना उद्देश्य 

उभिएपछि चौबाटोमा 

हावाको झोक्काले 

डगमगाइदिने

यदि भएन मानौं 

कुन उद्देश्यले बाँच्नु ? 

चुनौती

 उसले भन्यो 

हे स्वामी 

तिमी मलाई तिम्रो ज्ञान सिकाइदिन्छौ ? 

स्वामीले भन्यो -

पत्र तयार हुनुपर्छ,

अनि भोजन पस्किन पर्छ।

लु भो तिम्रो भोजन तिमी नै राख ।


भेला पार खुट्टा मक्किएकाहरू

प्रणायाम नगर्दै फुँकार छोडनेहरु 

खाबो गाडेजस्ता शरिर 

डाँडामाथिका घाम

तयार पार पात्र

पस्किउ तिम्रो भोजन । 


ख्याल छ तिम्रा पात्रको आयु ? 

कर्म प्रभावको हेक्का राखेका छौ ?

अनुयायीको बढदो क्रममा को थपियो ? 

को घट्यो ? 

ख्याल छ ? 

प्रभााव ? 

कोठे हुँकारले के बदलियो ? 

मुना पात्रमा बदल्न सक्यौ स्वामी ? 

वा त्यसका मालीलाई ? 

अथवा 

धनको प्रभावले सबैथोक खरिदन सक्ने 

के तिम्रो ज्ञान पनि बिकाउ छ ? 

हुदैन - यो तिम्रो जवाफ अपेक्षाकृत 

चुनौती स्वीकार छैन 

तिम्रो नजरको सद्पात्र होइन ! 

पात्र बनेर ज्ञान बोक्न सक्दैन 

किनकिः 

च्यापेको छैन बायूले कतै 

कम्मरको नसा च्यापिएको छैन 

खाइदैनन् कटकटी घुँडाहरू 

आउदैन कोठा गुञ्जने डकार 

बढेको छैन पेटको आयतन

भार थामिरहेकै छन खुट्टाहरु 

मिठो छैन रगत जहाँ कमिलाहरु टाँसिरहुन 

मानसिक तनाव भन्दा धेरै पर 

छोएको छैन बुढ्यौलीले 

विश्वविध्यालयका भर्याङ चढेर 

न सेवाबाट निवृत्त भएको 

घर कलहबाट टाढा

न मलाई पक्षघातले हानेको छ 

कसरी पात्र बनाउछौ स्वामी ? 


किन अटाउदैनौ नवयूवा 

कि जान्दैनौ ज्ञान प्रवाहको मार्ग खोल्न 

तिमी - तिमी भइरहनमै गर्व गर्छौ 

वा 

कसैले तिमीलाई चुनौती नदेओस । 


आँखा खोल 

तिम्रा आसन वरिपरी 

विरामी जाँच्ने आला सहित डक्टर भट्टी छिर्छ 

फलाक्छ अंग्रेजीमा नाम

टेबुलमा उभिन आउँछ विदेशी स्कच 

भद्र भएर सल्काउछ चुरोट 

मानौं चुरोट निमोनिया ग्रस्त छ 

के तिमीलाई थाह छ ? 

छेन ।

बिरामी र त्यसका गोठाला साथमा राखेर 

डक्टरी रवाफमा 

यसरी चुम्छ - गिलासमा स्खलित 

कौमार्य बिटुल्याउला झैं 

के ले राज गर्छ होला मष्तिस्कमा 

सोच्न सक्छौ ? 

आफ्नो शक्ति जाँचेर लगाउ अन्तरदृष्टि 

झुट्टा ठहर्याउ मेरा बचन 

अनि 

बढाउ आफ्नो प्रभाव 

घुडा कटकटी खाइदै

उर्ध्व पार्ने हातपाखुराका धनी 

वा उनका आफ्नाहरु 

अहँ 

सक्दैनौ - 

उसले भन्ने छ 

ठिक छन त घुडाहरू 

र हिँडने छ डक्टर हिँडेको बाटो 

चुकाउने छ क्षमताको मूल्य 

रित्तिएर तृप्ति 

फर्किने छ सुफी बनी । 


तिम्रो ज्ञान लिएर दैनिक निस्कने 

निसन्तान त नहोलान 

उर्दि जारी गर 

ह्विप लगाउ 

नकार्दै जान्छन उनीहरु पनि 

यो त ज्ञात पक्ष होइनर ? 

किन रहन्छ उ तिमीसँग 

के उसको शिक्षक छ 

उसको प्रभाव अवमूल्यन गरेर 

अज्ञात हो र उसका छापहरूमा 

भरीरहेको अहँकार 

लेप लगाउन सक्छौ 

वा बदल्न सक्छौ - 

हो बदल्छु भन्ने छौ 

अपेक्षा सहि हुनसक्छ 

अझ खोज्नेछौ तयार पात्र

त्यो शिक्षक 

जसलाई 

चार ठाउँमा देखिएरै कहलिनु छ विद्वान 

जम्मा पारेर पसिना चिस्याउनु छ शरिर

तताउनु छ 

तातिनु छ 

अनि निमोठनु छ पालुवा 

के तिमी माली बन्न सक्छौ ? 

रोक्न सक्छौ निमोठिने पालुवा 

सिंचन गरेर तिम्रो ज्ञानले 

युग सुहाउदो विद्वता 

अहँ

हुदैन 

बदलिनु छैन 

कसैलाई 

तिमी आफ्नै अडानमा बस 

यो युगका मान्छे आफ्नो अडानमा बस्नेछन 

जब 

उनीहरुका हड्डि मक्किन थाल्नेछन 

भार वहन गर्न सक्ने छैनन खुट्टाहरु 

भकारी बनाएर पेट 

बदलिएर स्व पात्रमा 

ओइरिनेछन तिमीसँग 

तब 

हुलिदिनु तिम्रो ज्ञान 

घुडासम्म मात्रै लागोस् 

पेटमा गुडुल्कियोस्

वा घुमिरहोस कम्मर वरिपरी 

वा निस्कियोस नासिका परिभ्रमण गरेर 

स्वामी ! 

पात्र चयन कति गजब छ --

निमग्न ज्ञान प्रवाहमा 

यो चुनौती स्वीकार गरेर 

बदलिन सक्छौ ? 


तिम्रा धुनमा लय मिलाउने भन्दा 

ज्ञानपुञ्जमा प्रज्वलित ह्रने भेटदैनौ 

मान 

भगिरहनेछ 

फुत्त फुत्त  ! 


आसन देखायौ 

गुफा भन्यौ 

हिमालय भन्यौ 

नदि किनारा 

बतायौ पुर्खाका कहानी 

स्वीकार भो र आग्रह

बने त बस्तीहरु 

वा निर्माण गर्यौ समुदाय 

निर्मुल पारेर असमानता 

अहँ भएन 

फगत क्षणिक बनेका कुरा 

रमाइदिन्छ हर कोही 

समात्दैन त्यो मार्ग 

रहनु र नरहनुको भेद नभए पछि 

के हिक्मत गर्न सक्छौ ?

स्व समुदाय निर्माणको 

अस्तित्वको 

म तिम्रो अस्तित्वलाई चुनौती दिन्छु । 




जीवनको आनन्द

 




एक हातमा चियाको कप

अर्को हातमा चुरोटको

बुँङ्ग उडाउदै धुवाँ

मेरो दिन उदाउछ 

नस्य सेवन भन्छ नि 

मेरो चुरोटले त्यहि काम गर्छ ।


तिमी ईश्वर प्राथना भन्छौ

मृत प्राय शब्दमा प्राण दिन भन्छौ 

खै तिम्रो कुरा कसले मान्छ ? 

तिम्रो पति साथमा छ ? 

वा पत्नी साथमा छ ? 

छोरा छोरी अहँ 

कोहि छैन विचरा ! 


मेरो छोराले लुकिछिपी नस्य सेवन गर्छ 

उसले पनि उडाउँछ होला - बुङबुङति धुवाँ 

सिकाउनु पर्ने छ उसलाई 

धुवाँ ननिल्नु भनेर 

मुखबाट तानेर 

नाकबाट बाहिर हुत्याइदिनु 

उसलाई वाष्प नेति सिकाउनु छ 

अनि उर्ध्वगामी बनाउन लगाउनु छ धुवाँ 

मष्तिस्कका कुना कुना छुने गरी 

छोरीलाई सिकाउनु छ 

बिरोध नगर्नु भनेर 

यदि उसको लोग्ने नस्य संघ सदस्य भए 

संघको शक्ति म बुझ्छु 

बढाउनु छदैछ । 


पत्नी हल्का पेयमा फुर्किन्छ 

आफू कडा 

पेट भरिने गरी 

मष्तिस्क रन्थन्याउदै 

भरेर आमाशय  । 

तिमी कुँजलमा रम 

टन्न पार आमाशय 

तातो पानी 

जीवन तातो छ 

रगत तातो छ 

जवानी तातो छ 

मलाई धेरै तात्नु छ 

बरफका टुक्रा भरेर शरिर चिस्याउदै 

उद्देलित गरेर मन 

तातो तातो बनाइरहनु छ सबैथोक । 


कुँजल हुन्छ स्वगतिमा 

थेग्न नसके शरिर 

त्यसलाई पनि टम्म पारेर हुलिरन्छु 

मेहनतको कमाइ - मन चिस्याउने 

कमाइ उडाउनु छैन कुँजलमा । 


पत्नी साथ छोडदिनन्

थप्न पाइन्छ जति पनि 

विपरित हातको स्पर्श नकार्छौ 

जति परेपनि फरक नपर्ने म 

एक सुझाव - घरमा नपुगोस् कुरा 

पुगे पछि 

लगाउनु पर्छ उपाय अनेक

धेरै भएछ - अज्ञात भूतमा 

होस नभए पछि - के भो र 

पत्याए पनि नपत्याए पनि 

पिताको गुरूत्वमा पनि शंका ? 

शिक्षकले प्रेरित गरेर 

सम्भव नभए पछि सानो उद्यम 

बढेपछि आकार 

बदलेर भाष्य 

शरिरको रङ्ग बदलिएँ 

अन्तरघुलन भइ कहाँ पुग्यो 

त्यो उचाई के तिमी प्राप्त गर्न सक्छौ ? 


झुट्टा दृष्टान्त होलान तिम्रा वरिपरी 

पोहोर साल उ मर्यो 

दुृर्घटना नदेख्न्रे कस्तो आँखा हो ? 

विचरा ! कालले लग्यो 

मेरो लागि पाठ भयो 

मातेपछि अरूकै साथ जानु 

हर गल्ती पाठ पढाउँछन 

भन यहाँ अजम्बरी कसलाई हुनु छ ? 


भ्रष्टको संगत गरेर कसरी सज्जन हुनु 

लामो युग ज्यूनु के छ र ? 

उसको संकेतनमा तालमेल मिलाउदै 

मार्ग कसरी भुल्नु 

मेरो भागमा छोटो आयु मागिदिनु 

तिम्रा दातासँग 

म कतै तिम्रो स‌ंघमा आउँथे कि ? 


भिडबाट एक्लै कसरी निक्लनु 

धिक्कार यस्तो जीवन 

जङ्गल छाडेर समाज बनाउनेलाई के जवाफ दिने ? 

तिम्रो ज्ञान एक्लिएर कसलाई काम लाग्छ ? 

पश्चगामी, परिवर्तन विरोधी 

उन्नत समाज छाडेर 

कसरी पाठ पढुँ 

यहि समयसंग ज्यूँछु 

त्यहि बाँडेर बस्छु 

भन म समय अनुसार बाँच्न नपाउने ? 


तिम्रो घ्राण शक्ति नासिएको होला 

स्वासको घर्षणले 

मेरो तिक्ष्ण छ 

पसिरहन्छ सुगन्ध 

बजारबाट थरिथरी 

मेरो प्राणमा त्यसैले भर्छ आयाम 

तिमी त्यो रोकेर प्रणायम भन्छौ 

म यो युगको यात्री हुँ

यसैलाई निरन्तरता दिने 

पेटले बोक्न सक्ने जति हुलिहाल्छु 

कहाँ राख्ने म के जानु 

पाचन नभएर सग्लै बाहिर निस्किएको 

थाह छ ? 

छैन । 

मलाई वर्तमानको स्वाद लिनु छ 

शरिरको माग बमोजिम 

लोभ नगरेर तिम्रो जस्तो 

पेटका लागि लोभ मुक्त जीवन ज्यूनु छ

निस्किए पनि ननिस्किए पनि 

म निस्केको मेरो समुहले चाल पाउँछ 

भन मेरो परिचय मेटेर तिमी के पाउँछौ ? 

समुह नाक थुन्न पछि नपरे 

गालीको फोहोरामा 

हाँसोको लहरा झुल्छ 

कोठाभरी, घरभरी, बाटोभरी 

तिम्रो मुस्कानको आग्रह 

‌ओठ च्यातेर दिन सकिदैन 

मुख खोल्न मिले पो 

अहँ 

म त एक पटक मात्र !

हरदिन हाँसेर कहाँ बाँच्न सक्छु 

रूनु पनि त छ 

बस्छु रोएर धुरू धुरू 

तिमी त्राटकको मंचन गरौला 

मेरो विलौनामा 

एक होइन महोदय 

तिम्रो निरस लाग्दो बाटो 

हिँडेर के गर्छौ ? 

नभए पछि भाग्यमा 

खान पाउनु र पिउन पाउनु 

मेरो के लाग्छ 

म मेरै बाटोको स्वामी 

तिमी एक जीव मात्र 

फगत जीव 

तिम्रो कुनै अस्तित्व छ र ? 

के तिमी ज्यूँदै छौ ? 

को रहन्छ तिम्रो साथमा 

नलिए पछि जीवनको आनन्द 

त्यो के जीवन हो ? 




Saturday, July 27, 2024

मृत्यु

 उ मरेको खबर छ ।

खबरमा मरेको

पन्ना पल्टिँदा पल्टिँदा 

मृत्युको भयङ्कर रुप साक्षत्कार भए।


भिरबाट खसेर पाता भाँचिएको 


रुखको हाँगा च्यातिदा च्यातिएको खुट्टा


साँघु तर्न छलाङ लगाउदा मक्किएको मेरुदण्ड 


बाल्यकालको प्रेमको नासो हस्तान्तरणमा निस्किरहने आवास 


हर खोकिमा रगतका फाल्चा थुक्ने बा


विष फुक्ने वैधको तागत नपुगेर सुकेका नलीहाड 


नागरिकता बोक्न नजान्दा बनेका हातीपाइला


छर्राहरुको व्यापारमा खर्चिएको लाख


कुन मर्यो होला खबर बन्ने गरी ।।

Friday, July 26, 2024

उ किन यहाँ छ ?




चक्राकार परिस्थितिको 

प्राकृतिक चक्रमा

अनुकूलित 

ज्यूने प्रण गर्छ 

 स्व स्वरूप ।


निर्बल तर बलवान 

पतकर बनेर यायावर 

बे वाक ठूलो जमातमा 

उपस्थितिबाट उल्टाएर

वा 

चहार्नुपर्ने 

अनेकौं छिद्रहरु।


जसलाई आवाज सुनाउन पनि छैन 

उसको आवाजले अरुको परिवर्तन बोल्छ 

वा बोल्दैन 

हेक्का कसलाई छ ? 

शक्ति, सत्ता वा सत्य 

कोशौं टाढासम्म 

पगरी गुथ्न नपर्ने 

जसलाई मोल मोलाई गर्न पर्दैन 

उ किन छ ? 


निर्बल मिचेर बलवान बन्ने

घात प्रतिघात र द्वन्द्व शक्ति प्राप्तिलाई 

व्यक्ति, कविला, दैवी, समुह 

ओहो! सत्ता शक्तिको साझेदार 

निर्बल मिचिने अनेकौं क्रिडा

कसले बोल्छ उसका लागि ?

शक्तिमान मूकदर्शक बनेको 

धर्मराज अधर्मसित मितेरी गासेर 

 ज्ञानीको ज्ञानै उपहास बनेपछि 

अन्यायका बिरोधी हिमायति बनेको 

ओ ! यो सत्ताका द्रोणहरू 

ओ! यो समयका विदुरहरू 

ओ! न्यायका रक्षकहरू

भन 

जसलाइ कुनै शक्तिमोह छैन 

जीउनु प्राकृतिक कर्म ठान्ने 

ब्रह्मको नियमानुकुल 

अन्य नीति अधिनस्त भई चल्ने

भक्ष मात्र भक्षण गर्ने 

कसैको ओतमा बस्न नखोज्ने 

रंङको पहिचानमा नचुक्ने 

भनौ कालो कालो नै र रातो रातै देख्ने 

उसले आँखा चिम्लिदैन 

आफ्नो पराइ छुट्याउनै  नपर्ने

सबै एक समान 

बाँच्ने प्रण गरेको 

तर पनि किन 

उ यो देशमा छ ? 


निरन्तर चालिरहने कर्मवीर पाइला 

निष्काम बढाउँछ 

उपरिगृह पाप मान्छ 

स्व खोजमा लागिरहने 

सर्वजन हिताय

मन्त्र जपेर 

कर्म गर्ने जमातको 

उ 

न कुनै ओतमा 

न कुनै प्रति ओत प्रोत छ 

न आशा राख्छ 

न निरास बन्छ 

बगाइरहन्छ पसिना 

गरिरहन्छ कर्म 

उसलाई 

जहाँ मिल्काए पनि उस्तै हुन्छ

उ कुनै सिमा रेखा भित्र पर्दैन 

बाहिर - सधैं बाहिर 

जुन गोलार्धमा हुत्याए पनि 

त्यहिँ रहने 

उ यहाँ किन छ ? 

यो सत्ताका अनुयायी 

वा अवसानमा शिन्दुर जात्रा गर्ने

बताइदिनुहोस 

के उ यहिँ रहन ठिक मान्छ ? 

किन उ यहाँ छ ? 


Friday, July 12, 2024

क्रान्ति

 


टल्किने बन्द 

बारूदको गन्ध

रक्तमुछेल सडक

लाठि, ढुङ्गा, भाला

अश्रु ग्यास

बुलेटहरू लस्करै

छिटफुट बमहरू ।

 

एम्बुसमा मान्छे

पत्रिकाका विभत्स तस्विर

रेडियो तरङ्गको त्रास

धारणा

कल्पना

अभ्यास

ओहो !

 

क्रान्ति तस्विरमा

रङ भरिएको छ

दस्तावेजमा रातो निसानी

एम्बुसबाट उछिट्टिएका बाछिटा

क्यानभासमा

तरवारसंग

कतै रूमल्लिरहेका ।

 


संग्राम उभ्याएका 

दस्तावेज 

अनेक लेवलमा

अनुकुलित नामहरू

प्रकृति सापेक्ष

निरपेक्ष व्याख्यान

 विभिन्न रङहरू चढाएका।

 

कहिँ शुदुर

अभिव्यक्ति कुण्ठित रहँदा

तिलान्जली दिएर

सबैलाई 

एक क्रान्तिको दस्तावेज खुल्छ

शासक र शासित

भेद नछुटाएको ।

 

बहुल तर अस्तित्व नकार्ने

उज्यालो भन्दा कोसै टाढा

अदिम प्रवृत्तिमा तादम्य राख्ने

एक एलिट

क्रान्तिको मशाल बोकेर निस्कन्छ

जन बोलीहरू

युगले समाहित गर्छ ।

 

सम्प्रभुता सत्तामा

प्राण भएर

भुइँसम्म

पद्धति स्वीकार

बिरोधको शुली नचढी

चल्यो क्रान्ति ।

 

मौलिकता तिरस्कृत

अनुकरणमा अपरिवर्तित गाथा

नश्ल प्रधानताका व्यन्जन

राखेर आरनहरुमा

परिवर्तन चाहने

युगको ज्योति

कृतघ्न अनुयायी

खण्ड खण्डका स्वामी

नकारेर एकत्व वर्तमानको

जसले जोड्यो सहजै

एक मालामा

हे ईश्वर कृपा वर्सियोस

स्मृति प्रगाढ बनाउन ।

 

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म  गोलबद्ध गर्यो -  जस्तो हामी अक्सर गर्छौं !  अन्धकारको डोरी - सर्प  आवश्यक उज्यालोको जोहो -  तपमा आश्रित रहनु  परिश्रम कल्प...