Friday, November 29, 2024

बा! कान खोल

आफ्नै गरिबीले हो 

हामी झन झन गरिब गए‌को । 

अब भत्काउनु पर्छ गरिबीका पर्खाल 

चढ्नु पर्छ उन्नतीका शिखर 

एक अभाव छ बा 

 ल्यापटपको !


लैनो भैंसी बेच बा 

वा घाटकुलो लाग्ने खेत

नभए घरबारी बेचेर भएपनि 

किन्नु प‌र्यो नयाँ ल्यापटप 

त्यस‌पदि चढुला किर्तिपुरको डाँडोमा 

दिनमै छापौला नोटका बिटा 

फिर्ता ल्याउला घरबारी 

बनाउँला आलिसान महल

अनि फिर्ता बोलाउँला बन्धुहरु 

स्व बन्धक बनेर 

रोजगारको खोजमा हराएका 

कयौं देशहरूमा !


बा! आँट त गर 

किनिदेउ ल्यापटप 

बेरोजगार छोरो बेहोर्न सक्छौ? 

 गुम्नेछ  हाम्रो अंश  

मलाई अत्यास लागि सक्यो 

कुन कुनामा परिने हो  

सवाल अस्तित्वको छ 

बा! कान त खोल ! 

कुरा त सुन!

लाखको डाँडो


दाइ!

यो किर्तिपुर कहाँ पर्छ ? 

बेरोजगार भएर कयौं बर्ष बसेँ

हातमुख जोर्न मुग्लान पसेँ

मलाई पनि खाँचो छ केहि लाखको 

न्यानो पाउन मन छ आफन्ती काखको !


एक टुक्रो जमिन किन्थे 

एक सानो झुपडि बनाउथें 

टाल्थें होला आमाको फरिया 

फेर्न मन छ बाको दौरा 

न्यानो कपडा चाहिएको छ 

दुधे बालक र उस‌को आमालाई !


भाइ ! 

तिमी राजधानी पसेर हरायौं 

कतै किर्तिपुरको सुख सयलमा त छैनौ ?

 कि खोज्दै हो तिमी पनि 

कहाँ पर्छ किर्तिपुर भनेर !

ज्ञान किनेर अज्ञानी बनेर !


ए! काका

 उठ अब ! 

अबेर भैसक्यो 

सकिन सक्छ रोजगारी 

हात हातै बाँड्‌दैछ रे लाखका बिटा

लैजाउँ चाहिने जति 

बनाउदैछन्, बन्दैछन् सबैलाई ।


म पत्याउछु बा 

तिमी पनि पत्याउ 

भाइलाई भन 

काकालाई सम्झाउ

हामी सबै पत्याउँ 

नपत्याउनेले पत्याउने कुरा ग‌र्यो 

नेपाल हो 

बिकिरहन्छन् बकम्फुसे कुरा 

यहाँका भट्टीमा नेता उदाउछन् 

हामी हात जोडिरहन्छौं ।

देश छ 

राजधानी पनि छ 

डाँडाहरू पनि छन 

लाखौ मिल्ने किर्तिपुर छ 

तर परिपाटी छैन 

योजनाकार छैन 

कार्यान्वयन कर्ता छैन 

 छ 

पत्याउने जमात 

बकम्फुसे कुरा गर्ने नेता 

एक देश 

एक डाँडो ।

Tuesday, November 5, 2024

काला पहाड





बा !

तिम्रा पसिनाको रेखामा 

ढोग चढाएर पाइला चाल्दा 

न्यानो हात कुल्चेको अनु‌भूति 

द्रवीभूत बनायो ।


भित्ताको माथिल्लो ओठ‌मा 

गैंची र साभेलका खत देख्दा 

झर्दै गरेका दाँत सम्झिएँ  

मकै भटमास चपाएर 

भत्काएका थियौ ढुङ्ग्यान भित्ताहरू ?


फनफनी चढ्दा उकालो 

सिरीमिरी बाटने कपाल सम्झ्यौ बा ? 

तिमीले  सिकाउथ्यौ 

आमा नहुँदा 

बहिनीको कपालको बाटो बनाउन ।


उक्लदै घुम्ती 

चिसाे भएर ओर्लदा 

धामीबाको लट्टा झै‌ं !

धामीबाले पनि साभेल चलाए कि ?

आफ्नो शिखा जस्तै  बाटो बनाउन ।


लोटाको पानी जस्तो ताल 

होस फर्काउन लट्टा चोवेर छर्किने 

ख्याल छ नी ! 

झस्काउन एकसाथ उभ्याइएका छन् 

मन्दिर, मस्जिद, गिर्जाघर र गुरुद्वारा ।


जल्को मन्साउने चिसो पानी 

तालले ताजा तुल्यायो

स्वेदशमै भित्ता कोतर्न सक्थ्यौ नि बा 

हामी गर्न सक्थ्यौं सयर 

पहाड - बण्डाल - मधेस

रोकियौं युगौं युग।


थाह छ किन ? 

त्यो बेल्चा, गैंचीले जग बसाउथेन !

तिम्रा पसिनाले समृ‌द्धि उमार्थेन !

यहाँ चाहिन्थ्यो दिनहुँ बग्ने संयन्त्र !

त्यो बन्ने थिएन 

जसरी बचेको छ कालापहाड।

Sunday, November 3, 2024

को दोषी हो ?

 म दोषी या मेरो नजर दोषी हो ?

जवानी हो या त रहर दोषी हो ?


म अन्जान, भो म मात्र हैन होला !

दुइटै वैस‌को त्यो बहर दोषी हो।।


एकान्तता अनि छामछुम पन !

कोठा हो या तिम्रो त्यो घर दोषी हो।


ना रौनकता, न विशेष राम थ्यो ।

उशा ! विहानीको प्रहर दोषी हो।


कुतकुत्यायो भित्रैबाट दुबै जीउ -

जंगल हो, या कुनै बगर दोषी हो।

Monday, October 7, 2024

सुन कान खोलेर


सुन ! एक पटक सुन 

 यो देशका शासक हो 

एक पटक कुरा त सुन 

जनता बोल्दा कान नथुन ।


भोट माग्दा हात जोड्यौं 

काम गर भन्दा हात छोड्‌यौ 

कति छिटो नाता जोड्‌यौं 

त्यति छिटो त्यस‌लाई मोड्‌‌यौ ।


सडक हिडन नमिल्ने बन्दैछन 

धारामा पानी आउदैन 

बिजुली, शिक्षा, स्वास्थ्य हेर त 

तिमिलाई लाज लाग्दैन ?


जहिल्यै आफ्नो पेट भर्ने !

भाषण ठूला ठूला गर्ने ? 

भनन् जनता कहिलेस‌म्म मर्ने ?

 फेरी पनि तिम्रै भर पर्ने ?


आस देखायौ ठूलाठूला 

हरेक ठाउँमा बनायौ दुला 

उ कसरी हेर्ला म कसरी हेरुँला 

अर्को चुनावमा तिम्रो विचार गरुँला।


ए जनता!

विकास‌को नाममा त एक बन

 तिमीलाई के के चाहिरेको छ भन

 यि नेताका गुण एक चोटी सम्झ त !


थुक्न मन लाग्दैन र यिनलाई

सपनाहरु बनाए‌का रंगिनलाई 

एउटै कामको लागि दौडधुप हिडाई 

के अझै बाँकि रह्‌‌यो र चिनाई ?


भो! कुरा गर्दा गर्दै थाकिन्छ 

हेरौ अर्को पल्ट कहाँ राखिन्छ 

छट्टै संगठन बनाउन लागिन्छ 

देश द्रोही भ्रष्टलाई जेल जाकिन्छ ।

Friday, October 4, 2024

कहिलेसम्म ?

ए! सप्तर्षी! 

तिम्रो समुहमा हेर- 

पहिलो लहरको अन्त्यमा 

गद्वि‌शिन महोदय ज्ञात विक्षिप्त हो ?

वा 

बनाउनु पर्ने बामनी बज्यै ! 

त्यो चित्कार 

स्वयम्बरमा  निस्केन र ? 

अहो! महोदय!

ज्ञात गरेर बोल्नुहोस 

स्वीकार्नु छ सम्प्रभुता 

भन्नुहोस 

अब म कुन युगमा अवतरित होउँ? 

जहाँ पनि उभिने छिद्रहरु छन् 

सुन्न सक्छु, बामनी बज्यैहरु 

उनीहरूका क्रन्दनहरु !


राजाको कामदण्ड 

धारक स्त्री भएपछि

खन्याउनु प‌‌र्यो पूर्ण 

थोपरेर असह्य भार 

ज्ञानले शुसोभित 

सुन्दा सुन्दैका हैकम 

शक्ति न्यायले नाप्न सक्दैन 

तराजु परिभ्रमणमा

तौलिदैननू कर्तुत 

किन कि


ऊ - तिम्रो वर्ग भ्राता 

ज्ञातले आँखा चिम्लिउन 

अज्ञात! अज्ञानमै बसुन !

बुलन्द बनोस शंखनाद 

बदल्न सक्ने रूपहरू अनेकौं ।


श्रापको माला बुनेर 

पहिराउनु पर्ने उम्किएपछि 

बनेको पहिलो प्रहर 

निरन्तरता पाइरहेको छ

के यो जारी रहिरहन्छ?

प्रयोगवादी कविता ‘कैयौं एकहरु’ : कठिन तर, उत्कृष्ट

 लर्निस खबर

नेपालगन्ज, १७ असोज

कविता संग्रह “कैयौं एकहरु’’ प्रयोगवादी कविता भएको समिक्षकहरुले बताएका छन् । भिम प्रज्वलको कविताकृती “कैयौं एकहरु’’ माथि टिप्पणी गर्दै समिक्षकहरुले उक्त कृति कठिन तर, उत्कृष्ट भएको बताएका हुन् । कवि प्रज्वलको कृतिमाथि समिक्षक केआर ओली, मीना बराल र राजकुमार थारूले समिक्षात्मक टिप्पणी गरेका थिए ।




सर्वदा साहित्य संगमद्वारा नेपालगन्जमा आयोजित एक समारोहमा कृतिमाथि समिक्षात्मक टिप्पणी गर्दै राजकुमार थारूले पुस्तकमा रहेका छोटा कविताहरु सरल भएको तर लामा कविताहरु बुझ्न सहज नभएकाले सो किताब पढदा मेहनत गर्नु पर्ने बताए । उनले उक्त कृतिमा भएका कवितामा कविले लय र छन्दको संरचना भन्दा पनि भावलाई र विचारको अभिव्यक्तिलाई प्राथमिकतामा राखेको बताए । साथै उनले कृतिलाई पाठक माझ पस्कंदा सजिला कविताबाट सुरु गरेको भए अँझ उत्कृष्ट हुनेमा जोड दिएका थिए ।


त्यस्तै समिक्षक मिना बरालले भाषिक तत्व, भाषिका लगायतका विषयमा रहेका सबल र दुर्बल पक्षको विवेचना गर्दै कविले आफ्ना कवितामा गरेको दैलेखी भाषिकाको प्रयोगको प्रशंसा समेत गरिन् । यनले यस्ता कविताहरु २०१७ सालतिर मोहन कोईरालाहरुले लेख्ने गरेको बताउदै समिक्षक बरालले यो कृति प्रयोगवादी कविता भएको बताईन् । ‘यो प्रयोगवादी कविता संग्रह जस्तो भएको छ । यस्ता कविताहरु बुझ्न कठिन हुन्छन् । तर, उत्कृष्ट हुन्छन् ।’–बरालले भनिन् । ‘यो कृति मिक्स भेज जस्तो भएको छ । त्यो किनभने, यस कृतिमा लामा छोटा तथा ठिक्कका कविता छन् ।’


समिक्षक के आर ओलीले पनि कृति परक समिक्षामा रहदै “कयौं एकहरु’’ फरक प्रकृतिका कविताको सङ्ग्रह भएको चर्चा गरे । उनले भने,–‘ कविता कृतिलाई प्रायः संक्षिप्त र सार्थक शब्दहरूको प्रयोगमा आधारमा लेखिएको हुन्छ, जसले पाठकलाई भावनात्मक रूपमा छुने र गहिराइमा लैजाने प्रयास गर्दछ । यो कृति पनि केहि हदसम्म त्यसमा सफल भएको छ । यद्यपी यस कृतिमा लेखिएका कविताहरुमा कता–कता स्वचालित\अवचेतन लेखन हो भन्ने भान हुन्छ ।’


साथै उक्त कृतिले आध्यात्मवादी दर्शन र योग दर्शनलाई जोड दिएको समिक्षक ओलीले बताए ।

कृतिमाथि गरिएका टिप्पणीहरुको जिज्ञासा मेटाउदै कवि प्रज्वलले आफ्नो कविता संग्रहले ‘अ–प्रतिनिधिको पनि प्रतिनिधित्व बोल्ने बताए । उनले भने,–‘मैले मेरा कविताहरु लेख्दाखेरी केहि त्यस्ता छिद्रहरु राखेको छु । ति छिद्रहरुले ‘नन रि–प्रिजिन्टेसन’ लाई ‘रि–प्रिजेन्ट’ गर्छन् । यद्यपी यस्ता कविता आम मान्छेहरुले पढ्दाखेरी एकै पटकमा नबुझ्न पनि सक्छन् ।’

४४ वटा कविता भएको उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य श्री महानन्द ढकालले विहिबार विमोचन गरेका थिए ।




Sunday, September 29, 2024

मैले पढाउन जानेन

 श्रीमान् 

तर्क पेश गर्न जान्दैन 

प्रमाण जम्मा भएन 

म नजान्ने भएरै हो 

यो सबैथोक अपुग भएको 

मैले पढाउन जानेन ।


मैले सुनाउन खोजें कथाहरु 

विद्यार्थीले इन्कार गरे 

यो परीक्षामा नआउने कुरा 

सुनेर समय किन बर्वाद गर्नु 

अनि चल्न थाले कक्षामा 

गुन्जाएर हल्ला 

सुन्न चाहनेहरू पनि आजित भएपछि 

म कक्षाबाट निस्किएं । 

बनाएर योजना 

भोलि बोल्ने अभ्यास गराउने छु।


बोकेर चार पाँच तस्विर 

पसेपछि कक्षामा 

खासखुस भएको थियो 

जब सेतोपाटीमा पढाइ शिक्षण लोखियो 

कक्षामा सन्नाटा छायो 

लाग्यो केहि दुः‌खद घटना भएको छ 

तर विडम्बना 

बोल्नु पर्छ भनेर मौन भएछ कक्षा 

जहाँ बोल्न खोज्नेहरू पनि हतास भैदिए 

समय मापनमा बस्नेले 

मुस्किलले नापेथ्यो बाह्र सेकेण्ड 

तर उभिन भने समय घर्काई घर्काई उभिए ।


पाठ फेरि फेरी पढाउन थाले

पढाई शिक्षण

लगाएपछि पाठ पढ्न

लगलगि काँपेर हो निस्किएका अपुरा शब्द

अर्थसंग वेपर्वाह !

वाक्य गठन-अहो यो त ग्यात भए पो !

प्रयोग ?

कहाँ गर्नु र 

घरमा - शब्द उच्चारण भन्दा बढि मौन हुन्छ 

जानेको २० सेकेण्ड‌‌को गित मात्रै हो 

गाउन होइन

 ओठ संचालन गर्न मात्र 

आमाबा कुराभन्दा कयौ टाढा 

सादृश्य उमेर 

इसराले चलिहाल्ने 

लुटेर शब्द‌को अस्मिता 

टुङ्ग्‌‌याइएका टुक्राहरु 

बोल्न मात्र हो आउने 

दृश्य यति मधुर कि कालरात्री झै 

मैले पढाउन जानेन श्रीमान । 


सजिला किताबका नाम लेखें 

विद्यार्थीले हेरे मात्र 

किताब भनेपछि पसिना निस्कने 

पाप लाग्छ जस्तो ठान्ने समाजमा 

किताबै किताबका कुरा गरें ।

पढ भने ।

पढ्ने तरिका बताएं ।

पाठ्यक्रम बताएँ । अहं !

त्यसो गरेर पढाइदो रहेनछ 

लेखिदिनु पर्ने उत्तर पुस्तिकामा

उत्तर बनाइ‌दिनु पर्ने 

पास 

बढाइ‌दिनु पर्ने कक्षा 

पुग्नु पर्ने परीक्षा केन्द्र 

चिट चोराइ‌दिनु पर्ने 

सम्मान गर्नु पर्ने 

यस्तो पढाउन सकेन श्रीमान ! 

मलाई माफ गर्नु होला ! 

म यस्तो पढाउन जान्दैन । 

यो ल्याकत भएन मसँग !

Saturday, September 28, 2024

यात्रा

 ए मुसाफिर 

तिम्रो यात्राका चुनौतिहरु

 ज्ञात हो कि अज्ञात? 

को बताउन सक्छ ?


भएन भने टेक्ने  धरातल 

न भए पछि स्व हात सहारा 

भर पर्नु पनि निरर्निरर्थक हुनसक्छ 

सम्झाइ रहेको छ आँखिझ्यालबाट ! 


मजबुतिको निर्माण 

कुन आँधीले उडाइ‌दिन्छ 

कुन तुफानले हुत्याइदिन्छ 

एकहोरो प्रवचन मुग्ध छ 

उसले थुनिदिएको छ कयौं मार्ग ।

छटपटी


ज्ञातले पनि ज्ञात मान्दैन 

किन ?

सत्य स्विकार गरेरै पनि 

सत्य मान्दैन किन ? 

उत्तरमा के देखिन्छ?


अह! ज्ञात नभएपछि 

कसरी कामलाग्न सक्छ ?

तिम्रो छटपटी!

Thursday, September 12, 2024

ध्रुव

समयले यसरी पर्खिन भर हुन सिकाएको छ । 

जल हुन, पवन हुन, पत्थर हुन सिकाएको छ ।


कुन सम्झौतामा राजी भएको हो कुन प्रहरमा ? 

कठोर बनायो त्यसरी तत्पर हुन सिकाएको छ ।।


ज्योति निस्कियोस् अन्धकारको गर्भबाट सहजै 

लुप्त छ जसरी त्यसैगरी प्रखर हुन सिकाएको छ।।


कति बताउनु सन्तुष्टिका दृष्टान्तहरू जहाँतहीँ

त्यागेर सन्तुष्टि कतै अग्रसर हुन सिकाएको छ।।


यो ब्रह्म हो रूप बदलिरहनुपर्छ त्यागेर सारा 

गुमनाम रहेर पनि प्रहर हुन सिकाएको छ।।

के होला

तिम्रा हर रहरमा चलेपछि के होला ? 

रहूँ या नरहूँ आत्मा ढलेपछि के होला ?


एक जालन्धर, एक विष्णु कसको अर्थ? 

ज्ञानमा शून्य, दीपक जलेपछि के होला ?


अस्तित्त्व स्वीकारको प्रश्न जन्मिए पछि 

नभई वृक्ष फल, तिमी फलेपछि के होला ?


कसरी बनाउला महल उजाडेर बस्ती 

बदला त्याग्ने धरातल गलेपछि के होला ?


अमरत्वको आसमा विराज भई लासमा 

ज्ञात छ ? प्राणले कर्म छलेपछि के होला?

Wednesday, September 11, 2024

परीक्षा

मैले परीक्षा चुन्न कहाँ पाउँछु र 

परीक्षा मलाई आफन्त मानिरहन्छ ।।


ज्यूनु ! हरेक पल अमूल्य छ साथी 

अनन्त सम्झन्छौं यो अन्त मानिरहन्छ ।।


विचारको पाइला चाल्नु चनाखो भै 

काँडा हुन फूल, मन त मानिरहन्छ ।।


ईश्वर प्राप्तीको बाटो कर्तव्य बिछ्‌याउ 

मन्दिरै छ ईश्वर महन्त मानिरहन्छ ।।


कर्मफल आशा, न्याय, धर्म, चाहना 

त्यहि कर्म मार्छ मान्छे, सन्त मानिरहन्छ ।

Friday, September 6, 2024

चार लोककथा

 भेला पारेर बालहरू
अबोधगम्य भाकामा
प्राण प्रतिष्ठा हुन्छ
आफ्‌नो परिवेशका
अबोधगम्य शुक्ति
अवचेतन‌मा हालेर ज्ञान वा दृष्टान्त
सहज पालना हुन्छन्
नचलेर पक्ष विपक्षका बहस
पात्रहरू पूर्वजमा रूपान्तरित
स्व संस्कार
ज्ञात गराएर
साहस र त्रास मिश्रित
दृढ निश्चयी पार्न
तत्पर छन्
सुन्न र सुनाउन अनुकुलित कथाहरू।


पिध्ने करा नजानु
दृष्टान्त स्वजन‌को
अपहरित, बेखवर
स्वर्णमन्य दैत्य महलमा निवास
आदरपूर्वक फिर्ति सवारी थ्यो
दानमा आएको इच्छित बस्तु
महिनौं अज्ञात रहि
ज्ञात पश्चात कर्म
लय बनेको हो।


सम्साँझै दैलो कुर्ने
बाजे म के खाउँ ?
भोक बाट प्रताडित
सम्प्रभुतामा ज्यान गु‌माइ‌दिन्छ
पत्यार हुन्छ
गर्व हुन्छ वीर अस्तित्वको
विलय गरेर
प्रभुत्वबाट भयभित
आहारा खरानीमा विलय
लगाएपछि आगो शरिरमा
डाँडा वा खोला
विश्राम जरूरी हो।

ख्याल ठट्टामा

गाउँभरिको मल उठाएर

कोशौ टाढाको खेतमा लैजानु

रहर होता कि वाध्यता ?

हासोको पात्र नबन्न

चेतावनी बर्सिएको हो

सुनसान रात्री

अनेकौ उकाली ओराली

निला दहहरू

विहानै उठनेले खबर पायो

गाउँ बाट मल हरायो

ठूलो ढुङ्‌‌गो पनि हरायो

गाउँको पहिचान हरायो

स्थापना गरिदियो अन्त कतै ।



ठूला ठूला ढुङगाहरु

कसरी बद‌लिए होलान बाजामा

भागेपछि मलामीहरू

हराएपछि शब

पथ्थरमा परिणत भए‌को दमाह

उस्तै मानवाकृति

के अस्तित्त्वमै छन् ?


Thursday, August 22, 2024

धन्यबाद

 सापटी लिएर शब्दहरू पूरा

काव्य माला गुथ्ने भयो एक सुर

पहिराउँन आतुर भए दिव्य जनमा

बनाएर चित्र विचित्र यो मनमा ।।


दिएर प्राण जो जीवन धानीदिन्छ

प्रथम पूष्प कृतज्ञको उसैले लिन्छ ।

राखेर शिरमा हृद‌यमा सधैं

चढोस हरकुरा, चढाउँछु खुसी भै ।।



सहेर कष्ट थुपारेर खुसी

म कारण नबनु नहोउन ति दुखी ।

यो माटोको तिलक सधैं म लगाउँ

म बाँचु यसैमा यस‌कै गित गाउँ ।।


निलेर अश्रु साहस सधैं भर्ने

कठिन मार्ग नित्य पहिलो पाइला सर्ने ।

लिएर सबभार स्वन्त्र पारी

उचो स्थान छ दुःख सुखकी प्यारी ।।


पालुवा नै दिव्य उदाए असरी

ज्ञातै नभएमा हुर्किन्थ्यो कसरी ।

छोडेर छाया धुपमै बस्न चाह्‌यो

खुलेर भव्य जीवन यसले पायो।।


विशाल वृक्ष भन्छ कोपिला हुँ म

कृतघ्न बने यो स्वरूप रहन्न ।

साथमा आई यि हातहरू स‌माई

चल्यो काव्य यात्रा रमाई रमाई ।।


भरेर मामा हृदय भरि

सम्मान अर्पण छ सबैमा बेस्सरी ।

म यात्री एक हौसाउने अनेक

शिशिर सदा उचो बनों म सेवक ।।


जे भन्नु थियो कविता ल्यै बोलुन

चढाएँ थियो जे गुँढ रहस्य त्यै खोलून ।

एक झुल्को दृष्टि के होला र पूर्ण

सुझाव सिरोधार्य हुनेछन सम्पूर्ण ।।


पस्किए मनमा उब्जेको तरङ्ग

लिनुए रस इच्छाले छानेर उमंग ।

लेखेँ जे देखें बाह्य, अन्तरमनले

लिनुस स्वीकारेर बिद्यत जनले ।।


सह‌योगी हात अनेकों सम्झिएँ

आभार सबैमा खुसीले पस्किएँ

एक्लै प्रयासले बन्दैन कोही

साधुवाद सबैमा चढाएं यहि !!


एक



शुन्य हो प्रभु

 जाचेर हेर्नुहोस 

शुन्य मात्र हो 

सत्य शुन्य मात्र हो !


पछाडि नलागोस 

मूल्य खोज्न सक्छ 

अगाडि नराखिदिनुहोस 

विलाउन सक्छ।


स्थान प्रदान होस प्रभु 

जो संग पनि बस्छ 

उसलाई बनाइ दिनु 

कसैको घाताङ्क !


Wednesday, August 21, 2024

उ कहाँ छ ?

 न सोध्नु उस‌लाई

कहाँ छ भनेर ?

कर्तव्य बोध

बारम्बार गराइरहनु ।


उ अज्ञात बनेको छ


अज्ञात समुदायमा


ज्ञात बनेर उम्रिनु


अपराध ठहरिन सक्छ।



जहाँ


ज्ञान उपास्‌ना पाप ठानिन्छ


हुनु हुदैन पुस्तकहरु


अक्षरहरू‌मा प्राण भर्नु अनुचित हुन्छ ।




स्वामी बन्न चाहने छन्


दासत्व स्वीकार्ने पनि


पाए मोचन पनि चलिरहन्छ


त्यो परिवेशमा।




प्रधान पनि छन्


उनका उपासक पनि


सारा कर्तव्य भुलेर


जारी गरिरहेका छन् उर्दिहरू ।



पोकामा लुकाउनु हतियार


तयार रहनु अनुपयुक्त मानिन्छ


रोज्नु पर्छ अनैतिकताका मार्गहरू


धकेल्दै धकेल्दै सर्व अस्तित्व ।



उ दायित्व सम्भिन्छ !


उत्तरदायित्व वहन गर्छ


लम्किरहन्छ कर्तव्य पथमा


उडाइन्छ हर खिल्लीमा - आउछ उदाहरण बनेर ।


मारेर ईश्वर




 लहरै बसेका बाल बालिका

सम्बोधनमा मुस्कुराए

उसले भन्यो

बाबु !

नानी!

यसलाई बचाइ राख्नु !

हो - यो बाँचि राख्नु पर्छ

तिम्रो खुसीको लागि

पल्लवित भइरहनु पर्छ

फक्रिरहनु पर्छ।

म पनि तिमिहरु जस्तै थिए

उमंग थियो

मेरो संसारमा

उन्नत प्राण थियो

मुस्कुराउथ्यो ईश्वर वरिपरि

दिइरहन्थ्यो आनन्द

स्वच्छन्द थिए जब म ।

विस्तारै पलाउदै गए पालुवा


फक्रिन थाल्दा थाल्दै


इमान्दारिताको नाममा


मार्दै गए


अंग प्रत्याङ्‌गमा रम्ने ईश्वर


समातेर घाँटी हुत्याइदिए



भएँ एक जिम्मेवार


सामाजिक प्राणी


कुल्चिएर अपनत्व


ज्यून अभ्यस्त भएँ


मारेर मेरो ईश्वर !


तिमीहरु जोगाइरहनु


ईश्वर साथमै राख्नु !


Tuesday, August 20, 2024

कथा

 ठूलो आगनभित्र 

भव्य महलमा 

हिमराशि केश 

गर्धनसम्म

ओढेर ओभरकोटको भारी 

चलाउदै केशराशि 

टहलिरहेको छ एक तस्विर

वरिपरी झुम्मिरहेकाछन 

बालकगण 

एकदुईतीनचारपाँचछसात

एकाग्रतामा

सुन्न आतुर

जीवन भोगाईका 

उतराचढावहरु

नाममा विभक्त अनेक पल

उनेर कथाहरुमा । 


जमेको गंगामा पौडिन मानवाकृति 

हिमशिखरमा कावा खाने मुनाल 

कडा धुपले पकाएको भोजन 

अनिदा रातहरुमा 

कोरिएका चित्रहरु

भरिएका संकल्पहरु

नैतिक पाठहरुमा 

पहिल्याउनु पर्ने मार्ग 

खोज्ने प्रण 

मुट्ठि कसेर 

बालकहरुलाई सुनाउनु छ 

विभिन्न कालखण्डमा 

कथाहरु ।


सटरमा छु

 बा 

महंगो सिताब‌को भारी किनेर

महंगो कपडाको टाईले सिंचन गर्दै

खनखनी गनेर नगद

चढाएपछि खाता बहिमा नाम

छोराले थालेको हो आमाको भाषा बिर्सिन

बाआमा बिर्सिन

फूल बिर्सिन

फूल चढ्ने देउराली बिर्सिन

स्वयम् बिर्सिन


अनयासै एक छत्र सम्झनामा तैरिदा

न्याम्रो मेटन

फलको गुणस्तर खोज्न

बा तयार भएको छ-डिएटरी सकाएर

छोरो तयार र कालसंग वेप्रवाह

एक स्वास

कुरा खोकिन्छ

छोरो भन्छ- सटरमा छु बा।


नमिल्ने समयसँग जुध्दै जुध्दै

बाले संघर्ष गरिरहे

छोराको खबर सुन्न आतुर

भन्छ बा म सटरमा छु।


बा म सटरमा छु।

मेरो अगाडि ठूलो र चौडा सडक छ

सडकमा गुडिरहन्छन अनगन्ति गाडिहरू

ठूला ठूला ट्रकहरु

स-साना कारहरू

हुइकिरहन्छन् मोटरसाइकिलहरु

चलिरहन्छन् रिक्साहरू

बजाउदै आ-आफ्ना संगित

गिज्याइरहन्छन हामीलाई

आवाजले त्रस्त भएर

सुन्न एकिदैन गुरु, गुरुआमाले के चढाउनु भयो ।

केहि भाग चुकेको हुन्छ गृहकार्यका

केहि भाग कक्षा कार्यका

गाडिको कोलाहलमा

म सटरमा छु बा।


सटर सांघुरो छ

एकापट्टी स‌मान मिलाउने र्याक छ

अर्कोपदी काठ तम्तयार छ र्याकका लागि

बिचमै बस्निछौं हामी

बा के हामी पनि वस्तु बन्न लागेका हौं ?

एक र्याकभरि कपडा पट्याएर राखिर झैं

हामी बीस जना खौदिरहन्छौं सटरभित्र

कोहि बेला मौका मात्र छिर्छन्

हामी पालो दिन्छौं - दिन बार बिराएर ।


मलाई सटरमा बस्न साथै अप्‌ठ्‌यारो लाग्छ

कुनै दिन शिक्षकरू आधा बन्द राख्छन सटर

हामी स्वास फेर्न गारो मान्छौं

यो देशमा जस्तै

उकुस मुकुस हुन्छ

पसिना बग्छ खलखली

अनि चिसिन्छौ-चिसो बरफ जस्तै

यस्तो गर्मिठाउँमा हामी खाँदिएका छौं

न झ्याल छ बा

न ढोका छ

मात्र सटर छ

यो सटरमा म छु

मेरा सामीहरू छन

चार थान बेन्च

एक थान शिक्षक

र हाम्रा थानका थान सपनाहरु ।


शिक्षक सटर बाहिर निस्कनु हुन्छ

ग्राह‌क‌लाई बोलाउनु पनि छ

बेच्नु पनि छ उत्पादन।

गुणस्तर चिन्ह राख्नु छ

कमशल समानमा पनि लगाउनु छ ट्‌याग

बाहिरबाटै बोल्नु पर्छ

आधा हामी सुन्छौं

आधा हावाले गाडिमा लैजान्छ ।


बा म यस्तो ठाउँमा छु।

हजुर अप्ठ्‌यारो मान्नु‌होला सायद

म त हजुरले नगद तिरेको स्कुल पढ्छु

म त्यहीं छु जहाँ हजुरले चिसो तापेर

सुनौलो लोगो मा पैसा खन्याउनु भयो

अहिले पनि कयौं बा आमा यहिँ आउनुहुन्छ

खन्याएर पासिना

थुनिदिनुहुन्छ छोरा छोरीलाई यि सटरहरूमा ।


हामी विद्रोह गर्न सक्दैनौ

बाका विरुद्ध‌मा

सहन्छौ ज्यादति हर दिन

अपनत्व ग्रहण गरि

सायद निरन्तर पोसिएर

चिठी थमाउदा रित्तो छाउँ हेर्छु

सुन्छ साथीलाई - प्राण गर्छु

मैले चुकाउनु छ मूल्य जसरी पनि ।


आमाका आँखामा छचल्किने आँशु

रोक्न सक्दैन मेरो साटरको बास

जम्मा गरिराख्नु भएको छ जम्मै

कुन महिना मैले के-के लगेर आमालाई दिए।

बा तपाईले मलाई भर्ना गरेको सटरमै हो

सटरमै भर्ना गर्छ, सटरमै उस‌ले पढाउछ

सटरमै कार्यालय चल्छ

सटरमै परीक्षा लिन्छ

सटरमै मूल्याङ्कन गर्छ

सटरमै नतिजा देखाउछ

सटरमै विद्यार्थी उतिर्ण हुन्छ सबै

सटर परिवर्तन गर्छन

जस्तै

हिजो पल्लो कोठामा थियौं

आज अर्को

बदलिरहन्छन सटरहरु

एक सटरमा म बसेको छु।


मलाई सटरमा किन बस्नु प‌र्यो बा!

खबर छैन


मैले केहि बोले पछि, चुप लाग्ने आदेश

पालन नभए

आउछन पालै पालो मिसहरू

भन्छन अफिसमा पठाइदिउ ?

अफिस पनि सटरमै छ

बा, म जहाँ गएपनि सटरमै हुन्छ

म चुप बस्छु

मेरो साथी चुप बस्छन

वरीपरिका साथीभाइ चुप लाग्छन

अनि ठूला दिदी दाइहरू चुप लाग्छन

हामी चुप बस्हौ

हामी सटरमा छौं

हामी सटरमै चुप लागेर बस्छौं

बा के यो देश सटर हो ?













बिद्रोह

मार्क्सका ठेली मुन्तिर  इमाइल दुर्खिम अनि  इ. वि. टाइलरको  संरचनामा  नअटेपछि मेरो परिवेश  कसरी अटौंला र म  महोदय ?  ॐ मणि पद्मे हुँ -  शिरमा...