साना हातले लोरी छाम्दैछन्
हेर! यि आँखाहरुमा
पुतलीका रङ खोज्छन्
नफक्रियका हातहरुले
सबैर अक्षर समात्नु ?
भगवानको घाँटी निमोठि -
खोज्न थालेछौ
मेरो निर्मलता !
हे जन्मदाता !
सुम्पेर अर्कैको हात
पिपल बीज हुँ - ठान्छौ !
ज्यून, बढन र हुर्कन छ
मेरो जुत्तामा खुट्टा हाल
मेरो प्रकृति हेर
मेरा आँखाहरुबाट -
देख्यौ मेरो वैभव !
स्वच्छन्द बतास हुँ
सानो आयतनमा हुल्छौ ?
साना पैतलाले ठूलो यात्रा थाल्नु छ -
सबेरै विश्राम भन्छौ !
खेल्नु छ समयका खेलहरु
गाउनु छ ब्रह्मका गितहरु
विशाल गगन बिछ्याउनु पर्ने
हुल्दैछौ विद्यालयका पर्खालभित्र !
सपना देख्न देऊ - म जागृत हुनु छ
आफ्ना सपनामा मलाई नधकेल
वैयक्तिक झण्डामुनि अंग्रजी भजन
त्यो सपना मेरो ! अहँ कदापि होइन
म आधार बिहिन बन्ने छु
तिम्रो शुन्दर भविष्य कल्पनातीत छ
मैले बादल मडारिएको देखेँ !
मेरो बिहानीमा अन्धकार नजोड ।
यो हावामा के जादु छ हँ ?
पश्चिमबाट आइरहेको -
स्वच्छन्द हृदयमा प्रित भरिन्छ
के म आतुर छु -
रोक ! बढन देऊ, फैलिन देऊ
फूल्न देऊ - मगमगाउँला
मेरो स्वरुप जाँच
कारखानाको घडिमा नबाँध बिन्ती ।

No comments:
Post a Comment