भन्नुस उसैलाई ताकेर के गर्नुहुन्छ
तरवार घाँटीमा राखेर के गर्नुहुन्छ ?
जसले जीवनसँग मृत्यु देखेको हुन्छ
त्यसैलाई यमराज डाकेर के गर्नुहुन्छ ?
उतारेर यात्री अलपत्र सहयात्री हँ ?
विजय चुम्ने रथ हाँकेर के गर्नुहुन्छ ?
पत्याइसक्यो दुनियाँले उदाङ्गो चरित्र
विस्वास छैन द्यौता भाकेर के गर्नुहुन्छ ?
प्रयोगशाला बनाइ परीक्षण गर्नुभयो
पुगेन के फेरी एकफेर के गर्नुहुन्छ ?
ढाले निरङ्कुश पन्छाए अवरोध सारा
कसको हैसियत नापेर के गर्नुहुन्छ ?
टुटेर विस्वास धर्मराए सम्बन्ध सबै
भन्नुस कसको साथ लागेर के गर्नुहुन्छ ?
जसको अस्तित्व समाज नकार्छ सहजै
उसकै न्यान्यो साथ मागेर के गर्नुहुन्छ ?
यो ब्रह्म हो चल्छ तिमीविना भ्रम त्याग लौ
स्वयम चलाउन नजानेर के गर्नुहुन्छ ?
अदृश्य रहेनन् कर्तुत छताछुल्ल भए
कहाँ जाने कसरी भागेर के गर्नुहुन्छ ?

No comments:
Post a Comment